December 21, 2012 - हल्ला र प्रभाव(बितेका १० दिनहरु ) - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

December 21, 2012 - हल्ला र प्रभाव(बितेका १० दिनहरु )

Share This
लेखक : अभिलाश
डिसेम्बर ११
धेरै पहिलादेखि हल्ला चलेकै छ की डिसेम्बर २१, २०१२ संसारको अन्त्य हुने दिन हो । हरेकको मुखमा डिसेम्बर २१, २०१२ झुन्डिएको छ । सबैको मनमा डिसेम्बर २१, २०१२ ले राज गरेको छ । बच्चा देखि बृद्धसम्म डिसेम्बर २१, २०१२को त्राशमा बाँचिरहेका छन् । त्यसबाट म मात्रै किन टाढा रहन सक्छु र ? मलाई पनि डिसेम्बर २१ कै डर छ । अब १० दिन बाकी छ डिसेम्बर २१ आउन । विभिन्न ब्लग, वेबसाइटहरुमा डिसेम्बर २१ कै चर्चा छ । फेसबुक र गूगल प्लसमा पनि डिसेम्बर २१ ले नै वाल भरेको छ । यस्तैमा मेरो मनमा पनि त्राश बढेकै छ । तर नासाको कुराले भने झिनो आशा बाँकि राखेको छ डिसेम्बर २१ पछी पनि पृथ्वीमा बाँच्ने । मनमा त्राश र भय भरेर आफ्नो काम गर्नुको बाध्यतामा मा पनि काम गरिरहेकै छु तर काममा फिटिक्कै मन छैन । "आखिर डिसेम्बर २१, २०१२मा त मर्नु नै छ नि" भन्ने कुरालाई केहि गर्दा पनि भुलाउन सकिएको हैन । मनमा अनेक कुरा खेलाईरहँदा मोबाइलमा घाँटी बज्यो । फोन साथीको रहेछ, भन्छ "पर्सि बिहे गर्दै छु तँलाई निम्तो गर्न फोन गरेको आइजो है !" अचानक उसको बिहेको कुरो सुनेर छक्क पर्दै म उसलाई सोध्छु "हैन रमेश अस्तिसम्म कुनै कुरै नभएको बिहेको बारेमा अचानक खबर गर्छस त, के गर्न खोजेको यार तैंले ?" उसको मुखबाट आशातित जवाफ पाउँछु म "साले तँलाई थाहा छैन डिसेम्बर २१ मा संसार ध्वस्त हुँदैछ अनि यत्रो दुइ बर्षदेखिको लभलाई सफल नपारी मर्नु त त्यै भएर मैले त बिहे गर्ने भएँ यार ।" उसै डराएको मन झन डराउने पारिदियो साथीले त !

डिसेम्बर १२
बिहानै उठेर फ्रेश भैसकेपछि सधैँ झैं अफिसको लागि तयार हुन्छु । अफिस जान बस स्टेशन पुगेको मेरो कानमा फेरी डिसेम्बर २१ कै त्राशलाई बढावा दिने कुरो पर्छ । म फेरी पनि मन भरि भय र त्राश बोक्दै कार्यालय पुग्छु । डराई डराई काम गरिरहेको बेलामा टेबलमा फोनको घाँटी बज्छ । म फोन उठाउँछु रिसेप्शनिस्ट निशाको स्वर सुनिन्छ "सर न्युरोडबाट रामप्रसाद तपाईंसंग कुरा गर्न खोज्दै हुनुहुन्छ । यति भन्दै उसले फोन ट्रान्सफर गरिदिन्छे । फोनमा चिनेजानेको स्वर गुन्जिन्छ तर ठम्याउन मुश्किल परेकोले लाजै पचाएर सोध्न बाध्य हुन्छु । लाचार भएर नाम सोध्नै लागेको बेलामा उसले गरेको 'मरन्च्याँसे' सम्बोधनबाट उसलाई चिन्छु । उ अर्थात् मेरो २० बर्षअगाडिको साथि जो स्कूल पढ्दा मेरो छायाँको रुपमा हुन्थ्यो । उसले डिसेम्बर २१ मा संसार ध्वस्त हुनुभन्दा अगाडी आफ्नो पुरानो, मिल्ने साथीसंग भेट्न खोजेको रहेछ । हेर म कस्तो हुस्सु अब संसार ध्वस्त हुने दिन नजिकिंदा पनि आफ्ना साथीभाई, इस्टमित्र आदि सबैलाई भुलेर डरै डरमा बाँचेको छु । उसले मलाई २ बजे ठमेलको रेस्टुरेन्टमा बोलायो । उही डर बोकेर म आधा दिनको छुट्टीमा उसलाई भेट्न गएँ । सन्चो बिसन्चोको सामान्य सोधपुछको औपचारिकता निभाईसकेपछी हामी सुरु भयौं । राति अबेरसम्म रक्सीको नसामा झुम भएर पुराना कुराहरु गर्दै गर्दा रात छिप्पिएको पत्तो नै भएनछ । घरबाट कतिबेला आउने भन्दै फोन आउँदा पो रातको आठ बजेको थाहा भयो त । घरमा आज नआउने भनेर खबर छोडेपछि रामेकै मोटरसाइकलमा हामी रामेको घर गयौं । बाटोको ट्राफिकलाई पनि डिसेम्बर २१ आउन ९ दिन बाँकी भएको र पुराना साथी भेट हुँदा हल्का मस्ती गरेको बताएपछि ट्राफिकले पनि मापसे माफ गर्दियो ।

डिसेम्बर १३
हिजोको ह्याँगले अझै छोडेको थिएन । ओछ्यानमै छँदा रमेशको फोन आयो "ओई कहाँ हो त झन आज यहाँ मेरो बिहे छ बिहानै चाडै आउला भनेको त १० बजुन्जेल यसको त अत्तोपत्तो छैन त के हो तेरो चालामाला ?" सरी यार हिजो एउटा पुरानो साथी भेट भाको थियो अलि बढी नै पिइएछ अनि ह्यांग नै उत्रेनछ ल मा आइहालें आधा घन्टामा त्यहाँ आइपुग्छु । भन्दै फोन राखेर जान अटेको मात्रै थिएँ कपडाको याद आयो कपडा त हिजो नालीमा लडेर बिजोग भएको थियो अनि रामेकै कपडा मांगे आखिर ८ दिन बाँकी त हो नि भन्ने सोचेर अर्काको कपडा लगाएर नै गईयो रमेशको बिहेमा पनि । बिहेको रमझममा पनि त्यहि डिसेम्बर २१ कै कुरा । एउटा २०/२२ बर्षको केटो चाहिं दुलाहा दुलहीलाई हेरेर कुरा गर्दै थियो "यार यो दाइको त लभ म्यारिज रे डिसेम्बर २१ आउनुभन्दा अगाडी नै गरिहाले आनन्दै भयो कमसेकम बिहे गरेर त मर्न पाए नि । आफ्नो त लभ पनि पर्न सकेन बिहे पनि गर्न सकिएन के गर्नु यार बिहे नै नगरी मर्नु पर्ने भो थुइक्क जिन्दगि ! यता हेर्यो डिसेम्बर २१ को कुरा उता गयो त्यै डिसेम्बर २१ कै कुरा । दिनभरी डिसेम्बर २१ को कुरा सुन्दा सुन्दा रमेशको बिहे पनि खल्लो लाग्यो ।

डिसेम्बर १४
अस्तिको ह्याँगमा हिजोको बिहेको थकाई थपिएर लगभग थला पर्ने स्थिति आएको थियो । अफिसबाट पनि ८ बजे देखि नै फोन आउन सुरु भईसकेको थियो कुन्नि के ट्रेनिंग छ रे भन्दै । आफुलाई भने अफिस जनै मन थिइन उता अफिसबाट फोन आएर बसिखप्नु भएको हैन । थकित मुद्रामा अफिस पुगेर काम गर्न थालें कम गर्न मनै लागेको होइन । उता बोसले रिपोर्ट मागेर हैरान, यता आफुलाई डर मात्रै लागेको छ काम गर्ने मन नै छैन । बल्ल बल्ल एउटा रिपोर्ट दिएको त फेरी अर्को रिपोर्ट चाहियो भन्छन बा । हैन यिनलाई डिसेम्बर २१ मा मर्नु पर्छ भन्ने थाहा छैन की थाहा भएर नै मर्नु भन्दा अगाडी सबै सकेर मरौं भन्ने लाको हो । ए बाबा सबै मरेपछि यो रिपोर्टको पनि के काम त ? सोच्दै थिए फेरी उही रिपोर्टको कुराले कानमा झिरले खोपे झैं खोप्यो । अन्तत: त्यो रिपोर्ट पनि मन नलागी नलागी बनाएर दिएँ । जति ब्यस्त भए पनि मनमा उही डिसेम्बर २१ को कुरोले बास छोडेको हैन ।

डिसेम्बर १५
अब घरतिरको काम चाहिं डिसेम्बर २१ पछिका दिनलाई थाँती राख्दै अफिस जाने र आउने अनि खाना खाने र सुत्ने काम मात्रै घरमा गरिन थाल्यो । बाकी समयमा डिस्को, दोहोरि आदि ठाउँमा पुग्ने र रमाइलो गर्ने काम गरिन थाल्यो । अफिस छुट्टी भएपछी कहिले डिस्को त कहिले दोहोरि जाने कार्यक्रमको तय गर्न आज हामी पाँच जनाको बैठक हाम्रै घरमा बस्यो र बैठकले सर्वसम्मतले ३ दिन डिस्को र ३ दिन दोहोरि जाने प्रस्तावलाई पारित गर्यो । अफिस छुट्टी भएपछी कुन डिस्को वा दोहोरिमा भेट्ने भन्ने कुराचाहिं प्रत्येक दिन दिउँसो फोनमा कुरा हुने गरि हामी छुट्टियौं । अफिसमा दिउँसो फोन आयो हाम्रो टिम त बढेर १० जनाको पो भएछ र आजको प्लान सुन्धाराको डिस्कोमा भेट्ने रहेछ । अफिसबाट सिधै डिस्को गईयो । घर पुग्दा आज पहिलोपल्ट १२ बजेको थियो । अर्थात् जिन्दगीमा पहिलोपल्ट यति ढिलागरि घर पुगिएको थियो । जाडोमा अर्काको मोटरसाइकलको पछाडी बसेर गएकोले नाकबाट पानीको धारा बगिरहेको थियो । जाडोले कामको जिउलाई तताउन २ वटा सिरक खापेर ओढ्दा पनि एक घण्टा लाग्यो ।

डिसेम्बर १६
अब भोलिबाट अफिस पनि नजाने सुरले एकै पटक डिसेम्बर २१ सम्मको ५ दिने बिदाको लागि अफिसमा निबेदन दिनका लागि निबेदन तयार पारिवरी अफिस गएँ । जानेबित्तिकै हाकिमको टेबलमा गएर हाकिमलाई बिदाको निबेदन दिएर बिदा स्वीकृत गराइयो । आज भने मन चंगा भएको थियो । डिसेम्बर २१को भयका बिच पनि मन रमाईराखेको थियो । आजचाहिं अलि अलि रहेका पेंडिंग कामहरु पनि सबै सिध्याएर जाने उद्देश्यले पुरै दिमागलाई काममा नै कन्संट्रेट गराईराखेको थिएँ तै पनि डिसेम्बर २१को त्राशले छोडेको थिएन । अफिस छुट्टी भएपछी दोहोरि जाने सल्लाहबमोजिम आज बालाजुको दोहोरि क्लबमा जानका लागि माइक्रो समातेर जादै थिएँ । माइक्रोमा खलासीले पनि भाडा लिने बेलामा अब ५ दिनमा त पृथ्वी ध्वस्त हुँदैछ के एक दुइ रुपैयाँमा किचकिच गर्नु भन्दै भाडा उठाउदै गर्छ । उसै डराइरहेको मन झन डराउने बनायो खलासीले पनि । आज पनि दोहोरिबाट घर फर्कंदा त उही ११.३० भएछ । आज पनि हिजोकै हालत । भोलिबाट चाहिं ट्याक्सी चढ्ने प्रस्ताव लाने विचार गरेर सुतियो ।

डिसेम्बर १७
आज अफिस पनि जान नपर्ने खुसियालीमा १० बजेसम्मै सुतियो । उठेर फ्रेश भएर खाना साना खाइवरी बाहिर निस्कियो । सथिभाईसंग भेटघाट गरियो । धेरै पछी भोलि साथिहरुसंग हलमा फिल्म हेर्न जाने सल्लाह गरियो । हिजो अस्ति जस्तै आज पनि डिस्को गईयो तर आज चाहिं ट्याक्सी लिएर फर्किएकाले खासै समस्या भएन तर पैसा चाही २००० सिद्धियो ट्याक्सी भाडामा मात्रै । यसरि भाडा तिर्नु पर्दा मनमा कता कता असजिलो लागे पनि डिसेम्बर २१ को नजिकिँदो अवस्थालाई सम्झेर मन बुझाइयो ।

डिसेम्बर १८
आज पनि हिजोकै जस्तो १० बजे नै उठियो । खानपिन पछी साथीहरु संग फिल्म हेर्न गईयो । सधैँ सामान्य हलमा फिल्म हेर्ने हामीले आज क्युएफएक्समा पनि सबैभन्दा महँगो टिकटमा फिल्म हेर्यौं । फिल्मपछी हामी दोहोरि गयौं र राति उही अबेर १२ बजेतिर घर फर्कियौं ।

डिसेम्बर १९
अब संसारको अन्त्य हुन दुइ दिन बाँकि थियो । अफिस पनि छुट्टी साथीभाई पनि प्राय: सबै संग भेटिसकेकाले आजको दिन फुर्सदको दिन थियो । त्यसैले आज बिजय मल्लको 'अन्तिम भोज' कथा पढें । कथा पढीसकेपछी सोचें कति महान छन् हाम्रा लेखक अहिले हुन गइरहेका कुराहरुलाई उ बेलामा नै कल्पना गरेर लेख्न सक्ने । साँच्चै महान छन् लेखकहरु । मनमनै लेखकहरुलाई श्रद्धाको फूल चढाएँ । आज डिस्को दोहोरि जानुभन्दा पनि आजसम्म भेट भएका केटिसाथीहरु र उनीहरुसंगको मेरो सम्बन्धलाई केलाएर बसें । मर्नुभन्दा अगाडी एकपटक गाउँकी कान्छी र सहरकी मैयाँको तुलना गर्न मन लग्यो र तुलना गरें । सहरको सस्तो प्रेम र गाउँको गाउँलेको मायाँ सम्झें । सहरका केटीहरुको शरीरमा आउने परफ्युमको गन्ध र गाउँकी कन्छिहरुको शरीरमा आउने पसिनाको सुगन्धको फरक सम्झें । गाउँ छोडेर सहरमा आएर दुख गरेकोमा पछुताएँ । पुराना कुराहरुको फ्ल्याश ब्याकमा गएर आफ्ना सम्झनाहरु केलाउँदा केलाउँदै कतिखेर निदाएछु पत्तै भएन ।

डिसेम्बर २०
आज २० डिसेम्बर २०१२ अर्थात् पृथ्वीको अन्तिम दिन मानिएको दिन । सारा संसार भन्दै छ की भोलि संसार ध्वस्त हुँदैछ । म मात्र यो कुरालाई कसरि नकार्न सक्छु र ? त्यसैले मैले पनि आजकै दिनलाई नै पृथ्वीको अन्तिम दिन मानेको छु । जन्मेपछी एक न एक दिन मर्नु नै छ भन्ने कुरालाई पनि मैले मानेकै छु । अब आज मलाई मर्न पनि डर रहेन किनकि पुरै संसार नै ध्वस्त हुन्छ भने मा मात्रै बाँचेर पनि के गर्ने ? हुन त महिनौंदेखि हल्ला चल्दै आइरहेको कुरा हो तर पनि मैले खुट्टा नै छोडेको चाहिं थिइन । तर आजचाहिं सबै कामलाई थाँती नै राखेर पढ्न बसियो । "आखिर मर्नु नै छ भने किनेर ल्याएका उपन्यासहरुको सदुपयोग त गरौँ न !" भन्ने सोचले मनलाई पढ्न बाध्य बनायो । बिहानै देखि पढ्न बसेको मैले भात पानी छोडेर पढें । बिहान देखि पढ्न बसेको मैले ११.५८ सम्ममा दुइवटा उपन्यासका किताबहरु सिध्याएछु । अब मर्ने नै भएपछी किन सुत्नु पृथ्वी ध्वस्त भएको हेरौँ न त भनेर मैले फेरी अर्को उपन्यास सुरु गरें ।

डिसेम्बर २१
बिहान छ्यांगै भयो, खै त पृथ्वी ध्वस्त भएन त । न त कुनै अलोकप्रिय खबर नै सुन्नु पर्यो । अहिलेसम्म मैले हिजो सुरु गरेको तेस्रो उपन्यासको पनि ९५ प्रतिशत सिध्याईसकें । तर खै त अहिलेसम्म पृथ्वीमा कुनै प्रलय भएन । अब एकछिनमा प्रलय हुन्छ होला, पृथ्वी ध्वस्त हुन्छ होला भन्ने सोच्दै कुरेर बसियो । तर अहँ पृथ्वीमा केहि भएन । न भूकम्प आयो । न त बाढी पहिरो गयो । न कुनै किसिमको दैबी प्रकोप वा अन्य बिपत्ति नै आइलाग्यो । साथीहरुको म्यासेज आउन थाल्यो । म्यासेजको व्यहोरा यस्तो हुन्थ्यो : हैन अहिलेसम्म किन पृथ्वीमा केहि भएन ? ध्वस्त हुदैन की क्या हो ? बेक्कार ऋण गरीगरी खर्च गरेको, अब कहिले तिरिसक्नु त्यत्रो ऋण ? टेन्सन भो नि यार । मलाई पनि ५ दिनको छुट्टी बेकार खेर जाने भो भन्ने चिन्ता अलि अलि लग्न थालेको थियो । तै पनि बिश्वास थियो की पृथ्वी आज नै ध्वस्त हुन्छ । तर अहँ रातको ११.४५ भो, केहि भएन । ११.५० भो, अझै केहि भएन । ११.५५ भो, अझै केहि भएन । १२.०० बज्यो, अहँ केहि भएन त । अब चाहिं पक्का भो केहि हुदैन । फगत हल्लाले मेरो पाँच दिनको बिदा खेर भो । उता दुइ रातको निन्द्राले च्यापेर मर्नु भो । सुतें आनन्दले केहि हुने रैनछ भन्दै ।

डिसेम्बर २२
हिजो र अस्ति दुइ रातको निन्द्राले च्यापेर उठ्न सकेको छैन । सकी नसकी अफिस जानु छ । त्यसैले बिहानै तयार भएर अफिस गएँ । तर अहँ काम गर्न सके पो निन्द्राले मलाई बिरामी जस्तै बनाएको थियो । मैले सोचेको थिएँ म मात्रै यस्तो होला अरु त छरिता होलान । तर अहँ कोहि पनि कम गर्न सक्ने अवस्थामा रहेनछन । सबलाई डिसेम्बर २१ ले नराम्ररी धोका दिएछ । बिचरा सबै टेन्सनमा थिएँ । हकिमकोमा आधा दिनको छुट्टी माग्नेको लाइन थियो । हाकिम कसैलाई छुट्टी दिने मूडमा थिएनन । त्यसैले मैले मेरो आधा दिनको छुट्टीको निबेदन च्यातेर फालिदिएँ । र दिउँसोभरि अफिसमा उँघेर नै बिताए । घर आइपुग्ने बित्तिकै डिसेम्बर २१, २०१२को हल्ला चलाउनेलाई सराप्दै सुतें । दुइ रातको यो निन्द्राले अब कति दिनसम्म टेन्सन दिने हो थाहा छैन ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here