
एक दिन कार्यालय समय पश्चात साँझपख बादशाह र बिरवल भेष बदलेर बाहिरतिर शहरको हावा खान र घुम्न भनि निस्के । घुम्दै फिर्दै एउटा गल्लीको घुम्तीमा पुग्दा नपुग्दै उनिहरुले छुन पनि घिन लाग्ने मैली, धुस्रीफुस्री, हेर्दैमा घिन लाग्ने खालकी महिला, सुत्केरी हुने महिना लागेजस्तो, भारि जिउकी भिखारिनी देखे । उसलाई त्यस हालतमा देखेर ताज्जुब मान्दै बिरवललाई बादशाहले सोधे, "जुन स्त्रीको यस्तो दुर्दशा छ, जसको नजिक जान पनि घिन लागिरहेको छ, भने फेरी त्यस्ती आइमाईका साथ भोगविलास(यौन सम्पर्क) गर्ने पुरुष कस्तो होला?"
तब बिरवलले पनि सोझो जवाफ दिए, "जो मानिसलाई जो व्यसन बस्दछ, त्यो छुट्दैन । जसरि भोको मान्छेले जुठो-चोखोको वास्तापास्ता गर्दैन, सुत्ने ठाउँको ख्याल गर्दैन र जे भेट्यो सो खान्छ, जहाँ पायो उहाँ सुत्छ, त्यसरी नै कुनै कामी पुरुष पनि जात कुजात आदि कुनै कुराको पनि विचार राख्दैन । कति त्यस्ता व्यसनी पनि देखिएका छन्, बाहिरबाट हेर्दा ठाटबाटका, शकल-सुरतका भला मानिस देखिन्छन, तर त्यसै घिनलाग्दो ठाउँमा मुख कालो गर्न जान्छन, देख्दै आश्चर्य लाग्छ ।" फेरी बादशाहले सोधे, "के यस्तो पनि हुन सक्छ ? के यस भिखारिनिको साथ भोगविलास गर्नेलाई पत्ता लगाउन सक्छौ त ?" बिरवलले तुरुन्तै जवाफ दिए, "हुनसक्छ, केहीबेर यताउति घुमेर अल्मलियौं भने आजै पत्ता पाउन पनि सकिन्छ ।"
त्यसपछी बादशाह र बिरवल दुवै उहाँबाट टाढा हटेर निकै पर उभिए । बिरवलचाही एकटक लाएर उसै भिखारिनिलाई हेरिरहे । केहि बेरपछि एउटा मानिस उहाँ आयो । हेर्दाखेरी त त्यो कुनै बेस घरानाको जस्तो लाग्दथ्यो, तर रहेछ लम्पट उसलाई उसै भिखारिनीतर्फ जान लागेको देखेर बिरवलले पक्का पनि यहि हो भन्ने निश्चय गरी बादशाहसंग बिन्ति गरे, "पृथ्वीनाथ ! जो यससंग भोगविलास गर्दछ, त्यो स्त्रीको दोस्त यहि हो जस्तो लाग्दछ । तब बादशाहले सोधे, "कसरि ?" तब बिरवलले भने, "बस्, केहि बेर उसतिर नजानिदो पाराले हेरिराखीबक्सियोस, एकैछिनमा सबै मामिला थाहा भैहाल्छ नि !"
बिरवलको अनुमान ठिक ठहर्यो । त्यो मान्छे यताउति पल्याकपुलुक हेर्दै उस भिखारिनी भाठौँ गयो र उसलाई कुनै इशारा गरेर उहाँबाट अन्तैतिर लाग्यो । त्यो अन्ततिर लागेपछि त्यो भिखारिनी पनि उसैका पछी पछी लागि । बादशाह र बिरवल पनि चुपचाप उभिएर तिनीहरुको तमाशा हेरिरहेका थिए बादशाहलाई पनि निश्चय भयो कि त्यस भिखारिनिलाई त्यो हालतको बनाउने त्यहि व्यसनी उल्लु रहेछ ।
यो सब भैसकेपछि बादशाह र बिरवल उहाँबाट आफ्नो बाटो लागे । तर आफ्नो मनमा रहेको शंका मेटाउन बादशाहले सोधे, "बिरवल ! त्यो मानिसलाई देख्नेबित्तिकै कसरि शंका भयो त ?" यो सुनेर बिरवलले तुरुन्तै जवाफ दिए, "पृथ्वीनाथ ! मौकामा यस्ता धेरै कुराहरुमा विचार राखीछोड्नुपर्छ, तब मात्रै गएर सबै भेद पाउन सकिन्छ । जब म निकै पर हटेर खडा थिएँ, तब मैले उस मान्छेलाई आइरहेको देखें । उसको हातमा सुर्ती त थियो, तर चुना थिएन र ऊ चुनाको तलाशमा थियो । यत्तिकैमा उसले कुनै चर्पीको ढोकामा ताजा चुना लागेको देख्यो र सरासर उहाँ गई तुरुन्तै खरखर खुर्केर आफ्नु हातको तम्बाकु (मलिसकेको सुर्ती)मा मिलाइलियो । सोचिबक्सियोस्, जो मान्छे आफुले खाने खैनिमा मिलाउनका लागि यस्तो घिनलाग्दो ठाउँबाट चुना लिन सक्छा भने त्यस्ताले कुन कुरामा केको विचार राख्छ र ? भानिठानी मैले पक्का पनि यहि नै हो, यसको यार यहि नै हुनुपर्छ भन्ने अनुमान गरेको हुँ । अन्तमा अनुमान ठिकै निक्ल्यो, लिला सरकारले नै आफ्नै आँखाले देखिबक्स्यो ।" भनि बिनम्र बिन्ति चढाए ।
त्यसपछी बादशाह र बिरवल पनि आफ्नु सौर्यकालीक घुमफिर गरिसकेर सरासर महलतिरै फर्किए ।
No comments:
Post a Comment