डेकेन्द्रको हत्या जिउँदै खाल्डोमा पुरेर भएको स्वीकारोक्ति, अझै भन्छौ की तिम्रा कार्यकर्ता निर्दोष ? - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

डेकेन्द्रको हत्या जिउँदै खाल्डोमा पुरेर भएको स्वीकारोक्ति, अझै भन्छौ की तिम्रा कार्यकर्ता निर्दोष ?

Share This

तत्कालिन माओवादी कार्यकर्ताले खानेपानीको विवाद मिलाउनुपर्ने भन्दै १२ असार २०६१ मा अपहरण गरेर चरम यातना दिइ २७ साउनमा हत्या गरिएका पत्रकार डेकेन्द्रराज थापाको हत्याका अरोपिहरु पक्राउ परेपछि माओबादीका नेताहरुले आफ्ना कार्यकर्ताहरु निर्दोष रहेको किन बताए ? हेर्नुहोस आज केहि पत्रिका तथा अनलाइनमा प्रकाशित खबर :

कान्तिपुर दैनिकको मुख्यपृष्ठको खबर
पत्रकारलाई जिउँदै गाडेको स्वीकार
प्रकाश अधिकारी दैलेख, पुस २२ - सशस्त्र द्वन्द्वकालमा माओवादीले अपहरणपछि पत्रकार डेकेन्द्रराज थापालाई जिउँदै गाडेर हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।

द्वारीस्थित नेपाल राष्ट्रिय निमाविको कक्षाकोठाको तेस्रो बिममा झुन्ड्याएर लौरी र सिस्नुपानीले दुई दिनसम्म यातना दिँदा पनि नमरेपछि जिउँदै गाडिएको शनिबार मात्र पक्राउ परेका पाँचै जना अभियुक्तले बताएका छन् ।

हत्याकाण्डका एक अभियुक्त लक्षीराम घर्तीले प्रहरी र सरकारी वकिलसमक्ष भनेका छन्, 'नाडी सुस्त चलेपछि गाड्न भनी मैले नै खाल्डो खनें । गाड्दा ऊ -डेकेन्द्र) जिउँदै थियो । नौ जनाले गाडेका हौं ।' द्वारी गाविस-१ का ४५ वषर्ीय घर्तीले बयानमा हत्याको वास्तविकता बताउन आफू पहिल्यैदेखि आतुर भएको बताएका छन् ।

द्वारीमै बसेको माओवादी जिल्ला कमिटी बैठकले डेकेन्द्रलाई यातना दिएर छानबिन गर्ने निर्देशन दिएको उनले बताए । 'जिल्ला हेडक्वार्टरको नीतिबमोजिम कुटपिट गरी बेहोस बनाएपछि गाडेका हौं,' घर्तीले सरकारी वकिल डम्बर काफ्लेसमक्ष भने, 'गाड्नुअघि स्कुलछेउको मेरो घरमा डेकेन्द्रले पानी भनेर कराएपछि मैले पानी खुवाएँ ।' हत्यामा संलग्न भए पनि डेकेन्द्रको आत्माले चिरशान्ति पाउन आफू सजाय भोग्न तयार भएको घर्तीको भनाइ छ ।

पाँचै जना अभियुक्तले 'आफूहरूले जति यातना दिँदासमेत डेकेन्द्रले गल्ती स्वीकार नगरेको' बयान दिएका छन् । पक्राउ परेका अभियुक्तले हत्यामा आफूहरूको संलग्नता स्वीकारेको प्रहरीले जनायो । अनुसन्धान अधिकृत प्रहरी निरीक्षक विनोद शर्माले पक्राउ परेकालाई थप अनुसन्धानका लागि पाँच दिन म्याद थपिएको जनाए ।

खानेपानीसम्बन्धी वार्तामा बोलाइएका डेकेन्द्रलाई २०६१ असार १२ गते नियन्त्रणमा लिई साउन २७ गते हत्या गरिएको थियो । हत्याको चार वर्षपछि पत्रकार महासंघ, राष्ट्रिय मानव अधिकार आयोगले थापाको चिहान उत्खनन गरेपछि परिवारले कंकालको दाहसंस्कार गरेका थिए ।

प्रहरीले हत्या अभियोगमा नेकपा-माओवादीका भेरी-कणर्ाली राज्य समिति सदस्य जयबहादुर शाही, हरिलाल पुनमगर, जिल्ला कमिटीका वरिष्ठ सचिवालय निरक घर्तीमगर, जिल्ला सदस्य लक्षीराम घर्ती र एमाओवादीका जिल्ला सदस्य वीरबहादुर केसीलाई शनिबार पक्राउ गरी अनुसन्धान अघि बढाएको हो । हत्यामा संलग्न अन्य व्यक्तिहरू अझै फरार छन् । एमाओवादी र नेकपा-माओवादीले विज्ञप्तिमार्फत कार्यकर्ता निर्दोष भएको दाबी गरेका छन् । शान्ति प्रक्रिया भाँड्ने मनसायले जनयुद्धको मुद्दा उठाइएको आरोप उनीहरूले लगाएका छन् ।

डेकेन्द्रकी पत्नी लक्ष्मी थापाले जिल्ला प्रहरीमा दिएको किटानी जाहेरीका आधारमा प्रहरीले घर्तीलाई पक्राउ गरेलगत्तै उनकै बयानका आधारमा थप चार जना पनि समातिएका हुन् । लक्ष्मीले २०६५ भदौ १२ गते लक्षीरामसहित कट्टीका बमबहादुर खड्का मुक्ति, छिउडीपुसाकोटका बमबहादुर खड्का, केशव खड्काविरुद्ध जाहेरी दिएकी थिइन् ।

जाहेरी दर्ताको चार वर्ष बितिसक्दासमेत प्रहरीले घटनाको अनुसन्धान र दोषीलाई पक्राउ नगरेपछि लक्ष्मीले गत मंसिर २७ गते दैलेख प्रहरी र सरकारी वकिल कार्यालयविरुद्ध पुनरावेदन अदालत सुर्खेतमा रिट दायर गरेकी थिइन् । रिटमाथि सुनुवाइ गर्दै पुनरावेदनले १५ दिनभित्र कारण देखाउ आदेश जारी गरेको थियो । भेरी अञ्चल प्रहरी प्रमुख एसएसपी माधवप्रसाद नेपालले बिहीबार दैलेख आएका बेला हत्याका अभियुक्तहरूलाई तुरुन्त पक्राउ गर्न निर्देशन दिएका थिए ।

रेडियो नेपाल र नेपाल समाचारपत्रका स्थानीय संवाददाता रहेका डेकेन्द्रलाई माओवादीले खानेपानीसम्बन्धी वार्ता गर्न भनी बोलाई कब्जामा लिएका थिए । सदरमुकाममा अवरुद्ध खानेपानी सुचारु गर्न माओवादीसँग छलफल गर्न उनी २०६१ असार १२ मा नागरिक समाजको तर्फबाट भवानी गाविसतर्फ लागेका थिए ।

कारबाही माग गर्दै प्रदर्शन डेकेन्द्र हत्याका अभियुक्तलाई कानुनी कठघरामा उभ्याएर दण्डहीनताको अन्त्य गर्न माग राख्दै दैलेख सदरमुकामवासीले प्रदर्शन गरेका छन् । प्रदर्शनमा स्थानीयका साथै पीडित परिवार, नागरिक अगुवा, पत्रकार, मानव अधिकारकर्मीको समेत सहभागिता छ । प्रहरीलाई दबाबरहित रूपले घटनाको अनुसन्धान गर्न नदिए माओवादीविरुद्ध आफूहरू खनिने प्रदर्शनकारीको चेतावनी छ । नेपाल पत्रकार महासंघ लगायतका विभिन्न संघ/संगठनले माओवादी दबाबको घोर भत्र्सना गरेका छन् ।

अनुसन्धान थालेकामा अभियुक्तलाई छुटाउन एमाओवादी र नेकपा-माओवादीका स्थानीय नेता कार्यकर्ताले प्रहरीलाई दबाब दिएको र स्थानीय सञ्चारकर्मीलाई समेत हतोत्साहित गराउने प्रकारका गतिविधि गरिएकोप्रति बाँकेका अधिकारकर्मीले विरोध जनाएका

छन् । पत्रकार महासंघ बाँकेसहित पुनरावेदन बार, मानव अधिकार संगठन, इन्सेक, एड्भोकेसी फोरम, हिमराइट्सलगायत संघसंस्थाले विज्ञप्ति जारी गर्दै कुनै पनि निकायको दबाबमा नपरी स्वतन्त्र अनुसन्धान गर्न नेपाल प्रहरीलाई आग्रह गरेका छन् ।

आफ्ना कार्यकर्ता निर्दोष भएको भन्दै पक्राउलगत्तै शनिबार एमाओवादी इञ्चार्ज कर्ण बस्नेत, नेकपा-माओवादीका पूर्वसभासद भरत रेग्मीसहित दर्जन नेताहरूले प्रहरी र पत्रकारलाई धम्की दिएका थिए । ती नेताले प्रहरी परिसरमै पत्रकारमाथि हातपात गर्ने कोसिस गरेका थिए । प्रहरी र पत्रकारलाई धम्की दिएपछि सदरमुकामवासीले माओवादीविरुद्ध माइकिङ गरेका थिए । 'डेकेन्द्रराज थापाका हत्यारालाई कारबाही गर्न नदिए माओवादीले यहाँ अझै ठूलो क्षति बेहोर्नुपर्ने छ,' मानव अधिकार तथा शान्ति समाजका सल्लाहकार भेषराज थापाले दुवै माओवादीका नेतालाई अपिल गर्दै भनेका थिए, 'सदरमुकामवासी खनिए परिणाम नराम्रो हुनेछ, अपराधीलाई बचाउन नलाग्नुस् ।' प्रहरी अनुसन्धानबारे बुझ्न नेपाल पत्रकार महासंघका मध्यपश्चिम संयोजक सूर्यमणि गौतम र डेकेन्द्र पत्नी लक्ष्मी दैलेख सदरमुकाम आएका छन् । लक्ष्मीले हत्यामा संलग्नलाई पक्राउ गरिएकामा उत्साहित हुँदै आफ्नो न्यायको लडाइँले सार्थकता पाउने आशा व्यक्त गरेकी छन् । 'न्याय मरिसकेको थियो, अब दोषीले सजाय पाउने आशा गरेकी छु,' उनले भनिन् । डीएसपी शारदाप्रसाद चौधरीका अनुसार दुवै माओवादीका जिम्मेवार व्यक्तिहरू पक्राउ परेकाले सम्भावित स्थितिलाई ध्यानमा राखेर थप सुरक्षाका लागि सुर्खेतस्थित क्षेत्रीय प्रहरी कार्यालयबाट ५० जना सुरक्षाकर्मीलाई दैलेख झिकाइएको छ । ग्रामीण क्षेत्रका चौकीहरूको पनि सुरक्षा बढाइएको डीएसपी चौधरीले बताए ।




राजधानी दैनिकको खबर

पत्रकार थापालाई जिउँदै गाडिएको खुलासा

पृथ बयलकोटी÷राजधानी दैलेख, २२ पुस
दैलेखका पत्रकार डेकेन्द्रराज थापालाई कुटपिटपछि जिउँदै खाल्डोमा पुरेर मारेको रहस्य खुलेको छ । उनको हत्या अभियोगमा पक्राउ परेकाहरूले चरम यातनापछि सास छँदै खाल्डोमा पुरेको प्रहरीसमक्ष बयान दिएपछि यो रहस्य खुलेको हो । पक्राउ परेकामध्ये लछीराम घर्तीले प्रहरीलाई दिएको प्रारम्भिक बयानअनुसार थापालाई चार दिनसम्म चरम यातना दिइएको र अन्तिम दिनको यातनामा होस गुमाएपछि म¥यो भन्दै खाल्डोमा गाडिएको थियो । घर्तीले आफूले खाल्डो खनेको र हत्यामा नौजना संलग्न रहेको बयान दिएका छन् ।

पत्रकार थापालाई तत्कालीन माओवादी कार्यकर्ताहरूले खानेपानीको विवाद मिलाउनुपर्ने भन्दै १२ असार २०६१ मा अपहरण गरेर २७ साउनमा हत्या गरेका थिए । प्रहरीले हत्यामा संलग्नमध्ये पाँचजनालाई शनिबार पक्राउ गरेको थियो । पक्राउ पर्नेमा घर्तीका साथै हरिलाल पुनमगर, वीरबहादुर केसी, निरकबहादुर घर्ती मगर र जयबहादुर शाही छन् । वीरबहादुर एमाओवादीका जिल्ला सदस्य हुन् भने बाँकी सकै नेकपा–माओवादीमा आबद्ध छन् । जयबहादुर सो पार्टीका भेरी–कर्णाली राज्य समिति सदस्य हुन् । प्रहरी निरीक्षक विनोद शर्माले दिएको जानकारीअनुसार पत्रकार थापाको ढुकढुकी बाँकी रहेकै अवस्थामा उनलाई लतार्दै लगेर गाडिएको खुलेको छ ।

हालसम्म पक्राउ परेका सबैले हत्यामा संलग्न भएको स्वीकार गरेको समेत प्रहरीले जानकारी दिइएको छ । उनीहरूले पत्रकार थापालाई जिउँँदै गाडेको लछीरामको बयानमा सहमति जनाएका छन् । हत्यारालाई कानुनी कारबाहीको माग गर्दै दैलेख सदरमुकाममा आइतबार पनि प्रदर्शन गरिएको छ । जिल्लामा रहेका मानव अधिकारवादी संघ÷संगठन, महिला र सदरमुकामका बासिन्दाहरूले दैलेख बजारमा प्रदर्शन गरेका हुन् । नेकपा–माओवादी र एमाओवादीले पक्राउ परेकालाई छोड्न दबाब दिँदै धम्कीपूर्ण विज्ञप्ति जारी गरेपछि आक्रोशित स्थानीयहरूले जिल्ला प्रहरी कार्यालयमा एक घन्टासम्म धर्नासमेत दिएका थिए । हत्यामा संलग्न भएको भन्दै किटानी जाहेरीमा उल्लेख गरिएका द्वारी गाविसका लछीरामलाई सरकारी वकिलको कार्यालयबाट बयान लिएर फर्कने क्रममा स्थानीयहरूले कडा कारबाही गर्न माग गरेका थिए ।

दैलेख जिल्ला अदालतले पक्राउ परेका पाँचजनालाई पाँच दिनको म्याद थप गरेको छ । उनीहरूबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । पत्रकार थापा हत्याबारे सत्यतथ्य छानबिनको माग गर्दै दैलेख सदरमुकाममा आएका नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, पत्रकार महासंघ सुर्खेत, क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ, प्रगतिशील पत्रकार संघ, नागरिक समाजलगायतले विज्ञप्ति जारी गरी धम्कीपूर्ण व्यवहार प्रदर्शन नगर्न नेकपा–माओवादी र एमाओवादीसमक्ष आग्रह गरेका छन् ।




उज्ज्यालो अनलाइनको खबर

पत्रकार डेकेन्द्रराज थापालाई ज्यूँदै गाडेको अभियुक्तको बयान

दैलेख, पुस २२ दैलेखका पत्रकार डेकेन्द्रराज थापालाई ज्यूँदै गाडेर हत्या गरेको अनुसन्धानले देखाएको छ । हिजो पक्राउ परेका अभियुक्तले सरकारी वकिल समक्ष ज्यूँदै गाडेको बयान दिएका हुन् ।

पक्राउ परेका ५ जना अभियुक्त मध्ये लछिराम घर्तिले जिल्ला पार्टी हेडक्वार्टरको निर्देशन बमोजिम कुटेर बेहोश बनाएपछि गाडेको बताएका हुन् । २०६१ साल साउन २७ गते तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले थापाको हत्या गरेका थिए ।

पाँचै जनालाइ जिल्ला अदालत दैलेखले ५ दिन थुनामा राख्न अनुमति दिएको छ । जल्ला प्रहरी कार्यालय दैलेखले अदालतमा हाजिर गराई अनुसन्धानका लागि ५ दिन थुनामा राख्ने अनुमति लिएको हो ।

उनीहरुलाइ अदालतमा हाजिर गराउने क्रममा स्थानीय बासिन्दाले हत्यारालाई कारवाही गर, दण्डहिनताको अन्त्य गर लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए ।

थापा पत्नी लक्ष्मीको जाहेरीका आधारमा झण्डै ४ वर्षपछि प्रहरीले दैलेखको द्वारी गाविसका लछीराम घर्ती, रानीवन गाविसका जयबहादुर शाही, बालुवाटारका वीरबहादुर केसी, निरक घर्तिमगर र हरिबहादुर पुन मगरलाइ पक्रेको थियो ।





इमेज च्यानलको खबर

दैलेखका पत्रकार डेकेन्द्र थापा हत्याका आरोपीद्धारा अपराध स्वीकार

दुई दिनको चरम यातानापछि ज्यूँदै गाडेको सरकारी वकिल समक्ष बयान

दलेख, पौष २३ । दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्याका आरोपीहरुले पत्रकार थापाको हत्या आफूहरुले नै गरेको स्वीकार गरेका छन् । शनिबार पक्राउ परेका अभियुक्तहरुले हिजो प्रहरी र सरकारी वकिलसंगको प्रारम्भिक बयानमा पत्रकार थापालाई ज्यूँदै गाडेको समेत स्वीकार गरेका छन् । पत्रकार थापाको हत्या भएको ८ बर्षपछि हत्याको आरोपमा एकीकृत माओवादी र नेकपा माओवादी सम्वद्ध ५ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको थियो । हत्याका अभियुक्त मध्येका लक्षीराम घर्तीले सरकारी वकिल र प्रहरी समक्ष पत्रकार थापाको नाडी सुस्त चल्न थालेपछि गाड्न आफैले खाल्डो खनेको र गाड्दा डेकेन्द्र ज्यूँदै रहेको स्वीकार गरेका हुन । पत्रकार थापालाई नौ जनाले गाडेको पनि घर्तीले स्वीकारेका छन् । दैलेख द्वारी गाविस–१ का ४५ बर्षीय घर्तीले माओवादीको जिल्ला कमिटीको बैठकले नै पत्रकार डेकेन्द्र थापालाई यातना दिएर मार्न निर्देशन दिएको पनि बताएका छन् । सोही निर्णय बमोजिम आफूहरुले पत्रकार थापालाई कुटेर वेहोस बनाएको र नाडी चल्दाचल्दै गाडेको पनि घर्तीले बताएका छन् । बयानमा घर्तीले गाड्नु अघि स्कूल छेवैको आफ्नो घरमा पत्रकार डेकेन्द्रले पानी–पानी भनेर कराएको र आफैले पानी खुवाएको पनि बताएका छन् । पक्राउ परेका पाँचै जना अभियुक्तले थापालाई अपहरण गरेपछि नेपाल राष्ट्रिय निमाविको कोठाको तेस्रो बिममा झुण्ड्याएर लाठो र सिस्नुपानीले हान्दै दुई दिनसम्म यातना दिंदा पनि नमरेपछि ज्यूँदै गाडेको बताएका हुन् । घर्तीले पत्रकार थापाको आत्माले शान्ति पाउँछ भने आफू सजाय भोग्न तयार भएको पनि बताएका छन् । माओवादीले थापालाई २०६१ असार १२ गते नियन्त्रणमा लिई साउन २७ गते हत्या गरेका थिए । हत्याको चार बर्षपछि पत्रकार महासंघ र राष्ट्रिय मानवअधिकार आयोगले थापाको चिहान उत्खनन् गरेपछि थापाका परिवारले कंकालको दाहसंस्कार गरेका थिए । प्रहरीले हत्या अभियोगमा नेकपा–माओवादीका भेरी कर्णाली राज्य समितिका सदस्य जयबहादुर शाही, हरिलाल पुनमगर, जिल्ला कमिटीका वरिष्ठ सचिवालय निरक घर्तीमगर, जिल्ला सदस्य लक्षीराम घर्ती र एकीकृत माओवादीका जिल्ला सदस्य वीरबहादुर केसीलाई आइतबार पक्राउ गरेको थियो । थापाको हत्याका आरोपीहरु पक्राउप्रति आपत्ति जनाउँदै उनीहरुलाई तत्काल छाड्न दुवै माओवादीले दबाव दिन थालेपछि दैलेखमा अधिकारकर्मी, संचारकर्मी र सर्वसाधारणले दोषीलाई कडा कारवाहीको माग राखेर जिल्ला प्रशासन कार्यालयमा धर्ना दिए ।

विद्वान पाठकबर्ग, सोचनीय कुरा छ की, किन माओबादीका नेताहरु आफ्ना कार्यकर्ताहरुलाई निर्दोष देख्छन जबकी उनीहरुकै कार्यकर्ताले स्वीकार गर्दै छन् की डेकेन्द्रलाई जिउँदै गाडिएको हो भनेर!

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here