आफ्ना सन्तानको मायाँ - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

आफ्ना सन्तानको मायाँ

Share This

कुनै दिन कुरै कुरैमा बादशाहले बिरवललाई लज्जित पर्ने बिचारले बिरवलसंग भने, " तिम्रा भगवान श्रीकृष्णजी गज (हात्ती)को पुकार सुन्नेबित्तिकै स्वयम् नै हस्यांग्फस्यांग गर्दै दौडेर उहाँ(घटनास्थलमा) पुगे रे ! के उनका साथ कुनै मानिस या उनको कोहि नोकरचाकर थिएन र ?" बादशाहको यस्तो उरेन्ठेउलो प्रश्न सुनेर बिरवलले भने "पृथ्वीनाथ ! यस प्रश्नको उत्तर म अरु कुनै बेला टक्र्याउने छु ।" बादशाहले यस कुरालाई सहर्ष स्वीकार गरे ।

त्यसपछि बिरवल पनि यस प्रश्नको उचित जवाफ दिनका निमित्त समय कुर्न थाले । यस्तैमा एकदिन उनलाई एउटा गजबको युक्ति निस्कियो बादशाहको नातिको धराल राजै उस नातिलाई सभामा बादशाह विराजमान भएको ठाउँमा ल्याउन लागेको समयमा बिरवलले हर तरहले उस धरालेलाई फुस्ल्याए । फुस्ल्याएर ठिक्क उस नाति शाहजादाको अनुहार गढ्ने डिलड़ालसंग मिल्ने गरि मैनको एउटा पुतली तयार गर्न लगाए । र त्यस पुतलीलाई शाहजादाले लगाएका जस्तै गरगहना पोशाक पहिराइदिए । अनि एक दिन उनले त्यस धरालेलाई त्यो पुतली दिएर, "तैले यसलाई अगाडी बोकेको बोक्यै, बादशाहले देख्ने गरि गोडा चिप्लेको बहाना बनाई हौज(कुण्ड)मा झ्वाम्मै डुबेको बहाना गर्नु ।" भनि राम्ररी अर्हाए। त्यो धराले पनि उपद्रै बाठो थियो उसले पनि बिरवलले भनेजस्तै गर्यो ।

धराले चिप्लिएर आफ्नु नातिलाई हौजमा डुबाएको देखेर आतेसमा आत्तिदै जर्याकजुरुक उठेर दौड्दै गई, पोशाकैसुद्ध त्यस कुण्डमा हाम फालेर चुर्लुम्म डुबेर हत्तरपत्त त्यो मैनको पुतलीलाई लिंदै बाहिर निस्के । बिरवलले मौका पाएर उसै बेला बिन्ति चढाईहाले, "पृथ्वीनाथ ! के हजुरका वरिपरी कोहि मानिस थिएन, अथवा सरकारका कुनै नोकरचाकर थिएनन र ? आफ्नो नाती शाहजादालाई निकाल्न स्वयम् तक्लिफ गरिबक्सिनुपर्यो ?" तब बादशाह पनि बिरवलको कुराको मतलब बुझेर र आफ्ना प्रश्नको समुचित उत्तर पाएर रिसाउनु अनुचित ठानी चुपचापै रहे । बिरवलले फेरी पनि बिनम्र भई बिन्ति चढाए, "पृथ्वीनाथ ! जसरि सरकारलाई आफ्नो सन्तानको माया र ममता छ, त्यसरी नै भगवान श्रीकृष्णलाई पनि आफ्ना भक्त/अनुयायीहरुमा असिम ममता र दया छ ।" यो सुनी बादशाह नाजवाफ भए ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here