
त्यस नोकरले त्यो सुगा लिएर गएर बडो सावधानीसित पालनपोषण गर्न थाल्यो । तर दुर्भाग्यबस केहि दिनपछि सुगा मर्यो । त्यसरी सुगा एकाएक मरेको देखेर त्यो बिचरा नोकर डरले थरथर काँप्न थाल्यो । अब के गर्ने यदि "सुगा मर्यो" भनेर बादशाहलाई खबर गरूँ भने च्वाट्टै काटिनुपर्नेछ । यदि "यत्रैसित्ति" भनि निच मारेर बसुँ भने पनि बच्ने हैन एक न एक दिन बादशाहले सुगा खोजिहल्छन । कत्ति गर्दा पनि यस काण्डबाट ज्यान बचाउने उपाय निस्केन र बिचरा त्यो नोकर लाचार भै बिरवल सामु पुग्यो । र बिन्तिभाऊ गर्दै ज्यान बचाई माग्ने बिचारले सम्पूर्ण बेलिबिस्तार लगायो । बिरवल ले पनि उसलाई भरसक म कोशिश गर्नेछु भनि आशा-भरोसा दिएर तुरुन्तै बादशाह कहाँ गए । उहाँ पुग्नेबित्तिकै के के न भए झैँ एकदमै आत्तिएर बिन्ति बिसाए "पृथ्वीनाथ ! सरकारको सु-सु-सुगा त .......।
बादशाहले पनि हडबडाउदै "के त्यो म-म-म-म-मर्यो कि क्या हो?" भन्दै प्रश्न गरे ।
तर बिरवलले "ह-ह-हैन सरकार! यस्तो कि-कि-किन हुन्थ्यो! त्यो त्यो त बडो तपस्वी बनेको छ त, आकाशतिर मुख फर्काएर, आँखा चिम्म चिम्लेर, सास टप्पै रोकेर निश्चल भई ध्यानमग्न भएको छ ।" भनि बिन्ति चढाए । बिरवल को त्यस्तो कुरा सुनी बादशाह रिसले चुर भै भन्न लागे "किन सफा भन्दैनौ कि सुगा मर्यो भनेर?"
"सरकार जो कुछ ठानिबक्सियोस मेरो बिचारमा त उसले समाधि कसे झैँ नै लाग्छ सरकारले आफै गएर हेरिबक्से बेस हुन्थ्यो" भनि बिरवलले बिन्ति बिसाए ।
त्यसपछि बादशाह र बिरवल दुवै जना सुगाको पिंजडा भएको ठाउँमा गए । उहाँ पुगेर बादशाहले बिरवल लाई भने "तिमि यस्तो चतुर व्यक्ति भएर पनि सुगा मरेको हो, कि हैन भन्ने जान्न सकेनौ? यदि तिमीले यो कुरो उही भनिदिएको भए यहाँ हस्यांग्फस्यांग गर्दै त आउनु पर्दैनथ्यो ।" तब प्रतिभाशाली चतुर बिरवलले भने "पृथ्वीनाथ ! यदि मैले उहीं साफसाफ भनिदिएको भए सरकारको प्रतिज्ञा मुताविक आफ्नो पनि ज्यानै गुमाउनु पर्थ्यो ।" अनि बादशाहलाई पनि आफ्नो आज्ञाको याद आयो । बिरवलको यो बुद्धिमानी समाचारले उनि अत्यन्तै हर्षित भए । र उनलाई बक्सिस पनि दिए । बिरवल ले पनि त्यो बक्सिस उसै सुगाको हेरचाह गर्ने नोकरलाई दिए ।
No comments:
Post a Comment