निर्माणका काम गर्ने श्रमिकको ज्यान जोखिममा

काठमाडौं । पहिलेभन्दा अहिले काठमाडौं हरेक हिसाबले फरक भएको छ । भौतिक संरचना मात्र होइन विभिन्न प्रकारका रसायनयुक्त कम्पनीको स्थापना पनि ह्वात्तै बढेको छ । आकाशै छुने गरी बनाइएका घर, खम्बामा झुण्डिएर काम गर्नेलाई जति जोखिम छ त्यति नै खतरा छ अन्य क्षेत्रमा काम गर्ने मजदूरलाई । कलकारखानामा मजदुरको जिउज्यान मात्रै हैन, स्वास्थ्य पनि उत्तिकै जोखिममा छ । त्यति मात्र हैन यी यस्ता काममा संलग्न मजदुर ज्यान गुमाउनेदेखि घाइते, अपांग र अस्वस्थ भएका थुप्रै घटना छन् । त्यसैले श्रमिकहरुका लागि संसारभर सामाजिक सुरक्षाको सुनिश्चितता गरिएको हुन्छ । तर, नेपालमा भने श्रमिकहरुका लागि त्यस्तो भरपर्दो सामाजिक सुरक्षाको व्यवस्था खासै छैन । त्यही कारण नेपालका श्रमिकहरु जोखिमपूर्ण अवस्थामा काम गर्दै आएका छन् ।
संसारभर वर्षेनी २३ लाख ४० हजार श्रमिकले कामकै सिलसिलामा ज्यान गुमाउँछन् । त्यसमा धेरैलाई चाहिँ कामको प्रकृतिअनुसारको दीर्घरोग लाग्छ र अल्पायुमै ज्यान गुमाउँछन् । कामकै बेला दुर्घटनामा परेर वर्षेनी ३ लाख २१ हजार श्रमिकले ज्यान गुमाउँछन् । नेपालजस्ता विकासशील मुलुकका श्रमिकलाई झन् बढी जोखिम रहेको छ । नेपाल प्रगतिशील ट्रेड युनियन महासंघका अध्यक्ष तिलक थापाले काम गर्नुपूर्व सुरक्षित वातावरण तयार नगर्दा समस्या निम्तिएको बताए । उनले जोखिमपूर्ण काम हेर्ने हो भने अत्याधिक जोखिममा नेपालकै श्रमिक पर्ने जानकारी दिए ।
निर्माणका काम गर्ने श्रमिक सबैभन्दा बढी जोखिममा काम गरिरहेका हुन्छन् । पेट्रोलियम पदार्थ, रासायनिक पदार्थ, होहल्ला हुने प्रकृतिका काम गर्ने श्रमिकलाई चाहिँ दीर्घरोग लाग्ने सम्भावना बढी हुन्छ । तर, नेपालमा श्रमिकहरुको पूर्वसुरक्षा र भविष्यको सुरक्षामा कमै मात्र ध्यान दिइएको छ । त्यसैले पर्याप्त कानुनी व्यवस्थाका लागि पहल गरिरहेको बताउँछन् नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विष्णु रिमाल । उनले कम्पनीका कारण पर्ने जोखिमलाई कम गर्न आफूहरु लागिपरेको दाबी गरे ।
ट्रेड युनियनका अगुवाहरुले गरिरहेको लबिङले कानुनी रुप पायो भने श्रमिकले के पाउँछन् त भन्ने जिज्ञासामा नेपाल ट्रेड युनियन कांग्रेस स्वतन्त्रका उपाध्यक्ष प्रेमसिंह बोहोराले भने, ‘श्रमिकहरुको हितमा क्षतिपूर्ति दिने, ज्यान गएको खण्डमा श्रमिकका बालबच्चाले राहत रकम पाउने गर्छन् । अंगभंग भएको अवस्थामा पनि उपचार र क्षतिपूर्तिको व्यवस्था हुने गर्छ ।’
श्रमिकहरुको कमाइ त्यसै पनि कम हुन्छ । संवेदनशील प्रकृतिका काम गरेकैले दीर्घरोग तथा समस्या खेप्नुपर्दा उनीहरुको दुःखको चाङ थुप्रिएको हुन्छ । त्यसका लागि उद्योगी आफैले पनि केही लगानी गर्नु जरुरी छ । किनभने सीपयुक्त श्रमिकको हित हुँदा नै उद्योगी व्यवसायीहरुको नाफा पनि बढ्ने हो । त्यसैले उद्योग सञ्चालकसँगै कानुन निर्माता र सरोकारवाला श्रमिक सामाजिक सुरक्षाको विषयमा अझै संवेदनशील बन्नु जरुरी देखिन्छ । नेपालमा निर्माणाधीन घर, औषधी कारखाना, विद्युतीय परियोजना तथा आयोजनामा काम गर्ने मजदुर बढी जोखिममा छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...