पूर्वसभासदको हत्याको विरोधमा प्रदर्शन जारी, गृहमन्त्री सप्तरीमा

 १० जेठ । पूर्वसभासद सदरुल मिया हकको हत्यारालाई कारबाहीको माग गर्दै भएको प्रदर्शनका कारण चौथो दिन आजपनि पूर्वपश्चिम राजमार्गको सप्तरी कल्याणपुर सडक खण्डमा यातायात ठप्प छ ।
तीन दिनदेखि यातायात ठप्प हुँदा हजारौं यात्रु अलपत्र परेका छन् । गन्तव्यमा पुग्न नपाएर सडकमै अलपत्र परेका महिला, बालबालिका र वृद्धवृद्धा बिरामी पर्न थालेका छन् । गृह मन्त्रालयले मानवीय संवेदनशिलताको ख्याल गर्दै गाडी चल्न दिन आन्दोलनरत पक्षसित आग्रह गरेको छ । पूर्व मन्त्री तथा आन्दोलन समितिका अध्यक्ष मृगेन्द्रकुमार सिंह यादवले गृहमन्त्री घटनास्थलमा उपस्थित नभएसम्म मियाको अन्तिम संस्कार नगर्ने र बन्द पनि नखोल्ने बताएका छन् । आन्दोलन समितिले १० सूत्रीय माग सार्वजनिक गरेको छ । पूर्वसभासद मियाको सोमबार राति हत्या भएको थियो । यसैबीच घटनास्थलमा गृहमन्त्री माधव घिमिरे आउने भनिएपनि नआएपछि आक्रोशित बनेका प्रदर्शनकारीले एउटा एम्बुलेन्समा तोडफोड गरेका छन् । प्रदर्शनकारीले फूलकुमारी महतो मेमोरियल अस्पताल सिरहा करजनहाको स १ च ५९४ एम्बुलेन्समा तोडफोड गरेका हुन् । बिहीबार बेलुकी पाँच बजे पूर्वाञ्चलका क्षेत्रीय प्रशासक जनार्दन नेपालले मौसम खराबका कारण गृहमन्त्री आउन नसक्ने बताएपछि प्रदर्शनकारीले बिरामी बोकेको एम्बुलेन्समा तोडफोड गरेका हुन् । प्रदर्शनकारीले नागरिक दैनिकका सम्वाददाता जितेन्द्रकुमार झामाथिसमेत हातपात गर्नुकासाथै क्यामेरा खोस्ने प्रयास गरेका छन् । एम्बुलेन्स तोडफोडको तस्विर खिच्न लागेका झामाथि हातपात भएको हो । गृहमन्त्री नआएसम्म शवको अन्त्येष्टि नगर्ने र बाटो पनि नखोल्ने भन्दै आन्दोलनकारीले सडकमा काठ तथा रुख तेर्स्याएका छन् । सप्तरीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले घटनाका अनुसन्धान अघि बढेको भन्दै एक हप्ताभित्र दोषी सार्वजनिक गर्ने बताउनुभयो ।
यसैबीच  पूर्व सभासद सदरुल मियाँ हकको हत्याको विरोधमा आन्दोलनमा गर्नेहरुसंग सरकारले शुक्रबार वार्ता गर्दैछ । त्यसका लागि गृहमन्त्री माधव घिमिरे हेलिकप्टर मार्फत विहान सप्तरी पुग्नुभएको छ । गृहमन्त्री घिमिरेले सप्तरीको कल्याणपुरमा राखिएको मियाँको शबमा श्रद्धाञ्जली दिने कार्यक्रम छ । त्यसपछि हत्याको विरोधमा राजमार्ग नै अवरुद्ध बनाएर आन्दोलनमा रहेका पीडित आफन्त र स्थानीयबासीसित वार्ता गर्नुहुनेछ । स्थानीयबासिन्दाले हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्ने गृहमन्त्रीको प्रतिबद्धता आएपछि मात्र आन्दोलन रोक्ने बताएका छन् । यस्तै बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वसभासद् हक हत्याको छानबीन गर्न ३ सदस्यीय न्यायीक आयोग गठन गरेको छ । बैठकले हकका परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय पनि गरेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...