साउदीमा ५ हजार अवैध नेपाली महिला यौन शोषणको सिकार

काठमाडौं । विभिन्न देशका लाखौं कामदार साउदी अरबमा अवैध रुपमा बसिरहेका छन् । झण्डै ६ लाख नेपालीमध्ये ६० हजार र घरेलु कामदारका रुपमा ५ हजार नेपाली महिला अवैध रुपले बसेको अनुमान छ । साउदी अरब सरकारले गैरकानूनी रुपमा बसेका कामदारका लागि आममाफी अर्थात् एम्नेष्टीको घोषणा गरेको छ । वैध हुन साउदी सरकारले वैशाख ३० देखि असार १९ गतेसम्म समयसीमा तोकेको छ । अवसरको सदुपयोग गर्दै वैधानिक बन्न नेपाली अवैध कामदारले पनि निवेदन दिइरहेका छन् । पछिल्लो आममाफी पहिलेभन्दा फरक छ । आममाफीको यो घोषणाले नेपाली कामदार पनि सिधै लाभान्वित हुनेछन् ।


पहिले–पहिले साउदी अरबमा विभिन्न धार्मिक अवसर र साउदी राजाको हुकुम प्रमाङ्गीमा अवैध आप्रवासी कामदारले आममाफी पाउँथे । त्यतिबेला आममाफी पाउने सबैले सिधै घर फर्कनुपथ्र्यो । तर, पछिल्लो आममाफीले साउदीमै वैध बनेर काम गर्ने अवसर पनि दिएको छ । काम गर्ने वा फर्किने कामदारको रोजाइँमा भर पर्छ । त्यसैले गैरकानूनी रुपमा बसेका नेपाली कामदारले यो अवसर सदुपयोग गर्नुपर्ने साउदी अरबका लागि नेपालका पूर्व श्रमसहचारी चण्डेश्वर आचार्यले बताए । उनले भने– ‘यो अहिले ठूलो अवसर हो नेपालीहरुका लागि । यदि यो अवसर गुम्यो र ३ जुलाईसम्म पनि कानूनी स्टाटस बनाएनन् वा नेपाल फर्केनन् भने झन् अप्ठ्यारोमा पर्न सक्दछ । त्यसो भएर सबैले यो अवसरको सदुपयोग गर्नुपर्छ ।’
दलालको चिल्लो कुरा सुनेर धेरै नेपाली युवा विदेशको सपना देख्छन् र ठगिन्छन् । यहाँ दलालले भनेजस्तो काम र दाम त्यहाँ पुग्दा नपाएपछि उनीहरु भागेर गैरकानूनी रुपमा काम गर्छन् । कतिपय चाहिँ धेरै पैसा कमाउने लोभले गैरकानूनी कामदार बन्छन् । त्यसरी गैरकानूनी रुपमा बस्दा व्यक्ति स्वयंलाई बेफाइदा हुने बताउँछन् साउदी अरबका लागि नेपाली राजदूत उदयराज पाण्डे । उनी भन्छन्– ‘एउटा कुरा ऊ नेपाल फर्किन धेरै गाह्रो छ । जेलमा नगई फर्किन सक्दैन । दोस्रो कुरा दुर्घटना भयो, घाइते भयो भने उपचार गर्न पाउँदैन । किनभने ऊसँग मान्य परिचयपत्र हँुदैन । अस्पतालले उपचार गर्न मान्दैन । त्यसपछि मृत्यु भयो भने उसको परिवारलाई यहाँ ठूलो पीडा हुन्छ । किनभने त्यो शव पठाउने कोही पनि जिम्मेवार हुँदैन । र, सम्पूर्ण काम, खर्च राजदूतावासले गर्नुपर्ने हुन्छ । धेरै प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ गैरकानूनीका हकमा । शव आउन पनि ढिला हुन्छ ।’
पहिले–पहिले आममाफी धर्मकर्मका लागि मक्का–मदिना पुगेर उतै काम गर्न थालेकाहरुलाई फर्काउने गरिन्थ्यो । त्यतिबेला पनि आममाफी पाउने भाग्यमानीमा नेपाली पनि हुन्थे । तर यसपाली भने गैरकानूनी हिसाबले काम गर्नेहरुलाई नै लक्षित गरी आममाफीको घोषणा गरिएको छ । यसको सदुपयोग नेपाली कामदारले कसरी गर्न सक्छन् त ? राजदूत पाण्डे भन्छन्– ‘वेबसाइटमा प्रेस विज्ञप्ति हालेका छौं । अहिले के भइरहेको छ र यसबाट कसरी सुविधा लिन सकिन्छ भनेर । त्यस्तै ट्राभल डकुमेन्ट बनाउनका लागि भर्नुपर्ने फारम पनि वेबसाइटमा हालेका छौं । त्यसलाई डाउनलोड गरेर जहाँ बसेर पनि भरेर पठाउन सकिन्छ । र रियादमा हाम्रो दूतावास नै छ । त्यसपछिका ठूला शहर दमाम, जेद्धाजस्ता ठाउँमा हाम्रो राजदूतावासको स्रोतव्यक्तिहरुको नाम, टेलिफोन नम्बरहरु पनि हामीले दिइसक्यौं । त्यहाँ सम्पर्क गरेर उनीहरुले फर्कने वातावरण मिलाउन सक्छन् ।’
पटक–पटक मालिकबाट विभिन्न प्रकारका हिंसा सहन नेपाली महिला कामदार बाध्य छन् । उनीहरु यौन शोषणमा पनि पर्ने गरेका छन् । यस्तो अवस्थामा आर्थिक हिसाबले बाध्य भएर नेपाली चेलीले आफ्नो इज्जत बेच्न बाध्य हुने गरेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...