निर्वाचन स्थगित, विद्यार्थी संगठनको लगानि डुब्यो

१७ जेठ  । विद्यार्थी संगठनहरुबीचको विवादका कारण मिश्रित प्रणालीमा पहिलो पटक हुन लागेको स्ववियु चुनाव स्थगित भएको छ । चुनाव स्थगित भएपछि विद्यार्थी संगठनले चुनावको प्रचारप्रसार तथा फर्जी विद्यार्थी भर्नाका लागि गरेको करोडौं खर्च र मिहिनेत खेर गएको छ ।
फर्जी भर्नाको विषयमा विद्यार्थी संगठनहरुबीच कुरा नमिलेपछि त्रिविले  अर्को सूचना गरी नगरेसम्मका लागि निर्वाचन नै स्थगित गरेको छ । देशभरका क्याम्पसहरुमा कतै तालाबन्दी तथा कतै बिरोध प्रदर्शन भएपछि  सुरु हुने भनिएको निर्वाचन कार्यतालिका नै प्रभावित भएको थियो । निर्वाचन कार्यतालिकामा  उम्मेदवारी मनोनयनको समय तोकिएको थियो । भर्नाका लागि तोकिएको अन्तिम दिन क्याम्पसहरुमा विद्यार्थी संगठनहरुले ठूलो संख्यामा फर्जी विद्यार्थी भर्ना गराएपछि विवाद चुलिएको थियो ।  विश्वविद्यालयका उपकुलपपति, रेक्टर, रजिस्टार तथा विद्यार्थी संगठनहरुबीच भएको बैठकमा सहमति हुन नसकेपछि निर्वाचन रद्द भएको अनेरास्ववियुका अध्यक्ष माधव ढुंगेलले जानकारी दिनुभयो । छलफलमा नेविसंघ, अनेरास्ववियु तथा माओवादी र एकीकृत माओवादी निकट विद्यार्थी संगठनरुको सहभागिता रहेको थियो । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक गंगाबहादुर थापा मगरले विवादका कारण सबै क्याम्पसका निर्वाचन समितिहरुमा तालाबन्दी गरिएपछि निर्वाचनको वातावरण बन्न नसकेको बताउनुभयो । आगामी दिनमा विद्यार्थी संघरसंगठनहरुबीचको थप छलफलपछि फेरि निर्वाचन तिथी तोकिने जनाइएको छ । बर्षा सुरु भएकाले तथा  अधिकांश कलेजमा पढाई नहुने भएकाले दुई महिनायता निर्वाचन हुने छेकछन्द देखिदैन । यसैबीच उच्चस्तरीय राजनीतिक समितिले स्ववियु चुनाव तोकिएकै मितिमा सम्पन्न गराउँन त्रिविलाई आग्रह गरेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...