खुला दिसामुक्त अभियान, सिंहदरबार क्षेत्रमा पुगेन कसैको ध्यान

काठमाडौं । हालसम्म ८ सय गाउँ विकास समितिसहित सात जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिए पनि मुलुकको केन्द्रीय प्रशासनिक निकाय सिंहदरबार क्षेत्रलाई खुला दिसामुक्त घोषणा गर्न कसैको ध्यान गएको छैन । सिंहदरबारभित्र सबै मन्त्रालयहरू राख्ने सरकारको नीति रहेको छ । अब स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलगायत थोरै मन्त्रालयमात्र सिंहदरबार बाहिर रहेका छन् ।
सिंहदरबारभित्र रहेका मन्त्रालय एवम् अन्य सरकारी निकायका भवनहरूमा कति शौचालय रहेका छन्, त्यसको अवस्था–व्यवस्था कस्तो छ, पानी छ कि छैन, हात धुनका लागि साबुन राखिएको छ कि छैन जस्ता सरसफाइसँग गाँसिएका प्रश्नका जवाफ खोज्न हालसम्म कुनै निकायले चासोसमेत राखेका छैनन् ।
‘सरसफाइमा प्रतिबद्धता :हामी सबैको ऐक्यबद्धता’, ‘हाम्रो घरमा चर्पी छ : हामीलाई यसैमा गर्व छ’ भन्ने नारा सरसफाइ सम्मेलनका सहभागीहरूले घन्काए पनि सिंहदरबार क्षेत्र भने मुक्त हुन सको छैन । ‘विकासका योजना सिंहदरबारमा बसेर बनाइन्छ, तर किन त्यो क्षेत्र नै खुला दिसामुक्त हुनु नपर्ने ?’, सम्मेलनका सहभागीहरुको प्रश्न थियो । सहरी विकास मन्त्रालयद्वारा विभिन्न दातृ निकायको आर्थिक एवम् प्राविधिक सहयोगमा आयोजित सम्मेलनमा सरसफाइका क्षेत्रमा भइरहेका कामका प्रगतिबारे व्यापक छलफल भएको थियो ।
सरकारले लागू गरेको सरसफाइ गुरुयोजना २०६८ मा सन् २०१७ सम्ममा हरेक गाविस एवम् जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने महत्वाकाङ्क्षी कार्यक्रम रहेको छ ।
पछिल्लो जनगणनामा ६२ प्रतिशत घरमा मात्र चर्पी रहेका, ती मध्ये सहरी क्षेत्रमा ९१ प्रतिशत र ग्रामीण क्षेत्रमा ५५ प्रतिशतले चर्पी प्रयोग गर्ने गरेको देखिएको थियो ।  विश्व स्वास्थ्य सङ्गठनका अनुसार अझै पनि नेपालमा सरसफाइको कमीका कारण हुने रोगबाट बर्सेनि १० हजार ५ सय बालबालिकाले अकालमा ज्यान गुमाउनु परिरहेको छ ।  खानेकुरा खानुअघि साबुन पानीले हातधुने बानी मात्र बसाल्न सकेमा ४७ प्रतिशत रोग लाग्नबाट बच्न सकिने पनि सङ्गठनको अध्ययनले पुष्टि गरेको छ । सो सम्मेलनमा नेकपा (एमाले)का नेता आनन्द पोखरेलले सिंहदरबारलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्न र सिंहदरबारमा रहेका चर्पीका अवस्थाका बारेमा अध्ययन गर्न माग गर्नुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...