मंसिर महिना भित्रै चुनाव हुने दाहालको दाबी

७ जेठ । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले मंसिर महिनाभित्रै चुनाव हुने दाबी गर्नुभएको छ । पार्टी कार्यालय कोटेश्वरमा मंगलबार ‘शहीद तथा बेपत्ता योद्धा स्तम्भ’ को सिलान्यास गर्दै अध्यक्ष दाहालले मंसिर महिनाभित्र चुनाव गर्नुको विकल्प नरहेको बताउनुभएको हो । ‘बेपत्ता योद्धा स्मरण दिवस’ को अवसरमा भएको कार्यक्रममा उहाँले चुनावले नै समस्या समाधानको ढोका खोल्ने भन्दै केही दलले विरोध गर्दैमा चुनाव नसर्ने पनि स्पष्ट पार्नुभयो । अध्यक्ष दाहालले आफ्नो पार्टी पटक–पटक सरकारमा गएपनि बेपत्ता परिवारको स्थिति सार्वजनिक गर्न नसकेको स्वीकार्दै बेपत्ताहरूको स्थिति सार्वजनिक गर्नु निकै चुनौतीपूर्ण रहेको बताउनुभयो । शहीद तथा बेपत्ताका विषयलाई पार्टीले कहिल्यै नजरअन्दाज नगरेको भन्दै अध्यक्ष दाहालले सत्यनिरुपण तथा बेपत्ता अध्यादेशमा सहमति गरेर मात्र आफूले पछिल्लो ११ बँुदे सहमतिमा हस्ताक्षर गरेको बताउनुभयो । कार्यक्रममा शहीद तथा बेपत्ता परिवारले शहीदको भावनाविपरीत पार्टीले जनआन्दोलन र जनयुद्धका दोषीलाई पुरस्कृत गर्दै गएको भन्दै आक्रोश व्यक्तः गरेका थिए । यसैबीच काठमाडौंमै भएको अर्को कार्यक्रममा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले चुनावको वातावरण बनाउन सबैसँग आग्रह गर्नु भएको छ । मंगलबार काठमाडौंमा ‘घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठान’ को पहिलो साधारणसभामा अध्यक्ष दाहालले मुलुक एक विशिष्ठ अवस्थामा रहेको भन्दै चुनावको वातावरण बनाउन सबैसँग आग्रह गर्नुभएको हो । उहाँले साहित्यिक र सांस्कृतिक आन्दोलनले पनि राजनीतिक स्थिरता ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै साहित्यकाहरूलाई पनि चुनावका लागि सहयोग गर्न आग्रह गर्नुभयो । अध्यक्ष दाहालले सरकारले प्रगतिशील लेखक धनश्याम ढकालको योगदानको कदर गर्नुपर्ने बताउनुभयो । ढकालको २०६८ साल फाल्गुन १ गते मोटरसाइकलको ठक्करबाट निधन भएको थियो । ढकालका करिब दुई दर्जन कृति प्रकाशित छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...