नेपालमा १६ लाख बालमजदुर, ६ लाख जोखिमपूर्ण काममा

काठमाडौं । गएको बुधबार मे १ का दिन नेपालका साथै विश्वभर मजदुर दिवस मनाइयो । तर नेपालमा रहेका १६ लाख बालमजदुरलाई मजदुर दिवसले छोएन । तीमध्ये ६ लाख २१ हजार बालबालिका बालमजदुरका रुपमा जोखिमपूर्ण काममा संलग्न रहँदै आएका छन् । यिनीहरुको पक्षमा बोल्ने न कोही मजदुर नेता भए न त बालमजदुरका मुद्दा नै उठाए ।
हाल नेपालमा २ लाख बालबालिका नदेखिएका काममा संलग्न हुँदै आएको एक तथ्याङ्कले देखाएको छ । नेपाल बालश्रम प्रतिवेदन २०१० का अनुसार १६ लाख बालमजदुरमा बालिकाको सङ्ख्या बढी भएको देखाएको छ ।
५ देखि १७ वर्षको उमेरका ४० प्रतिशत, ५ देखि १४ वर्ष उमेरका बालबालिकाको सङ्ख्यामा कमी आए पनि १४ देखि १७ वर्षका बालमजदुरको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।
श्रम तथा रोजगार मन्त्रालयले आयोजना पश्चिम नेपालको धनगढीमा आयोजना गरेको बालश्रम निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै शाखा अधिकृत जगदीशचन्द्र शिवाकोटीले २०२० सम्म सबैखाले बालश्रम र २०१६ सम्म निकृष्ट स्वरुप अन्त्य गरिने राष्ट्रिय गुरुयोजना रहेको र त्यसका लागि कामहरू भइरहेको जानकारी दिएका छन् ।
सन् १९९८ मा २० लाख बालबालिका बालश्रममा संलग्न भएकामा सन् २००८ मा घटेर बालश्रमको सङ्ख्या १६ लाखमा झरेको जानकारी दिँदै शिवाकोटीले बालश्रम न्यूनीकरणका लागि राज्यले विभिन्न सन्धि–सम्झौतामा हस्ताक्षर गरिसकेको अवस्थामा राष्ट्रिय नीति, कानुन र कार्ययोजना बनाएर अघि बढ्न जरुरी रहेको औंल्याए ।
श्रम तथा रोजगार मन्त्रालयका उपसचिव नारायणप्रसाद रिसालले बालश्रम निवारणमा अन्तर्राष्ट्रिय मापदण्ड र प्रतिबद्धता विषयक कार्यपत्र प्रस्तुत गर्दै अन्तर्राष्ट्रियस्तरमा भएका महासन्धि, विश्वव्यापीरुपमा स्वीकार गरिएका मापदण्ड, अन्तर्राष्ट्रिय प्रयत्नहरू र परिभाषाबारे जानकारी दिएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...