अविरल वर्षासँगै मुलुकभरि नै बाढी पहिरोको विपत्ति, ३० भन्दा बढीको मृत्यु (अपडेट)

कालीकोट:
कालीकोटका विभिन्न स्थानमा पहिरोमा पुरिएर १६ जनाको मृत्यु भएको छ ।
जिल्लाको मेहालमुढीको डंखिलीमा गएको पहिरोमा कृष्ण न्यौपाने, टक्क बम, कृष्ण धामी, जीवन तिरुवा, दल सार्की, भूपेन्द्र शाही, कमेरा शाही, कला थापा र उनका छोराको मृत्यु भएको हो । त्यस्तै मनराज शाही, चञ्चला शाही र उनका नाति तथा सत्य शाहीका चार जना परिवार समेत हिजोबाट बेपत्ता छन् । कालीकोटको मम्रा गाविसमा बाढीले रहेको साना जलबिद्युत्त केन्द्रको पावर हाउस रहेको खोलामा आएको बाढीले उनीहरुलाई बगाएको प्रमूख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले जानकारी दिनुभयो ।
दैलेख:
यसैबीच अविरल बर्षाले दैलेखमा एक घर भत्किँदा एकै घरका सात जनाको मृत्यु भएको छ । दैलेखको मालिका गाविस– २ मा मोहन कुमालको घर भत्किँदा घरमा रहेका उनीसहित उनका परिवारको मृत्यु भएको हो । पहिरोमा परि मृत्यु हुनेमा तुलसा कुमाल, दुई बषर्का सुन्तला कुमाल, ६ बर्षका नगेन्द्र कुमाल, सात बर्षका खगेन्द्र कुमाल, तीनबर्षका विष्णु कुमाल र ११ बर्षका गणेश कुमालको मृत्यु भएको हो ।
अछाम,बझाङ, बैतडी, डोटी, हुम्ला:
अछामको हितमा गाविसमा खोला तर्ने क्रममा स्थानीय रत्नबहादुर बुढालाई बगाएको छ । यस्तै बझाङमा सेती नदिमा आएको बाढीले सात घर बगाएको छ । बाढीले कोटदेवल गाविस– ८ का आठ घर बगाउनुका साथै ६१ घर परिवार विस्थापित भएका छन् । बाढीले सातसय हेक्टर जमिन कटान गरेको छ ।
निरन्तरको वर्षापछि आएको पहिरोमा परेर अछाम र बैतडीमा सात जनाको मृत्यु भएको छ । डोटीमा एक जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार बैतडीको सिद्धेश्वर गाविस–९ खोड्पेका रामसिंह ऐरीको घर पहिरोमा पुरिँदा ५ जनाको ज्यान गएको हो । पहिरोमा पुरिएर ज्यान जानेमा ३६ वर्षीया सीता ऐरी, १२ वर्षका परमेश्वर ऐरी, १ वर्षका अर्जुन ऐरी, २४ वर्षीया कलावती ऐरी र उनकी ३ वर्षकी छोरी विन्देश्वरी ऐरी रहेका छन् । त्यस्तै अछामको कुन्ताबण्डाली गाविस वडा नम्बर ३ मिस्तुरुमा मिनबहादुर बोगटीको घर पहिरोमा पुरिदा उनकी श्रीमती ३२ वर्षकी अनिषा बोगटी र २ वर्षकी छोरी रविना बोगटीको ज्यान गएको छ । मिनबहादुर बोगटी र उनका दुई छोरा रोहित र मुकेश घाइते भएका छन् । त्यस्तै डोटीको गगुडामा बाढीमा बगेर एक जना बेपत्ता भएका छन् । त्यस्तै अविरल वर्षाका कारण हुम्ला सदरमुकाम सिमिकोट देखि २ किलो मिटरको दुरीमा रहेको स्याम्ने गाउँमा एक होटेल र दुइ घर वगाएको छ । स्थानिय वासी गाँउ छोडेर ओडार तिर भागेका छन ।
दार्चुला, कैलाली, बर्दिया
अविरल वर्षासँगै महाकाली नदीमा आएको बाढीले दार्चुला सदरमुकाम खलंगाका ११ बटा सरकारी कार्यालयसहित झण्डै ६५ घर–टहरा बगाएको छ ।
लगातार परेको अविरल वर्षाका कारण बर्दियाको राजापुर र कैलालीका अधिकाश भू–भाग डुवानमा परेका छन् । कर्णाली नदीमा पानीको सतह वढेपछि बर्दियाको एघार गाविस अन्र्तगत राजापुर क्षेत्रमा पर्ने केही गाविसका अधिकास गाउहरु जलमग्न भएका हुन् । त्यस्तै कैलालीको ४० प्रतिशत भुभाग डुवानमा परेको छ । कैलालीमा सयौं घर डुवानमा परेर घरबार विहीन बनेका छन्, उनीहरुलाई उद्धार टोलीले उद्धार गर्नुका साथै रेडक्रस लगायतका संघ संस्थाले राहत वितरण समेत गर्न थालेका छन् । कर्णालीमा पानीको सतह बढेर खतराको संकेतमा पुगेपछि बर्दियाको राजापुर, भिम्मापुर, दौलतपुर, पाताभार लगायतका गाविसमा पर्ने अधिकास गाउँ जलमग्न बन्दा जनजीवन कष्टकर बनेको छ । दौलतपुर गाविसको टिउनीबाट कर्णालीनदी गाउँतिर फर्किएपछि गाउमा पानी पसेको स्थानीयले बताएका छन् । डुवानमा परेकाहरुलाई स्टीमर र सशस्त्र प्रहरीसंग भएका लाईफ ज्याकेटको सहायताले उद्धार गरेको राजापुर प्रहरीले जनाएको छ । सदरमुकाम गुलरीयाबाट प्रमुख जिल्ला अधिकारी सहित सेना, सशस्त्र र नेपाल प्रहरीको ५० जनाको उद्धार टोली राजापुर गएको छ । कर्णाली नदीमा पनीको सतह १० दशमलव ८० रहेकोमा मंगलबार १३ दशकलव ८० पुगेको छ ।नदीमा बाढी आएपछि बर्दियाको राजापुर क्षेत्रका ११ गाविस उच्च जोखिममा परेको भन्दै पूर्व सर्तकताका लागि स्थानीय प्रशासनले आग्रह गरेको थियो । जिल्ला प्रहरी कार्यालयका एसपी सुरेशविक्रम शाहले सोमबार रातिबाट खतरा संकेत भन्दा माथि बाढीको मापन भएकाले सर्वसाधारणलाई सर्तकता अपनाउन खबर गरेको बताउनुभयो । बाढी बर्दियाका दौलतपुर, खैरी, चन्दनपुर र गोलाका बस्तीमा पसेको स्थानीयले बताएका छन् ।
महाकाली नदीमा तटबन्ध निर्माणमा सरकारले चासो नदिँदाको परिणाम, स्थानीयबासीबाट सरकार प्रमुखको ध्यानाकर्षण
सरोकारवालाहरूले महाकाली नदीमा तटबन्ध निर्माणमा सरकारले चासो नदिएकाले सुदुरपश्चिममा प्राकृतिक विपत्ति आएको भन्दै सरकार प्रमुखको ध्यानाकर्षण गरेका छन् । पुर्वसभासद् गोपालसिंह बोहरा नेतृत्वको टोलीले अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको ध्यानाकर्षण गराएका हुन् । महाकाली नदीपारी भारतीय भूभागमा हरेक वर्ष तटबन्ध निर्माण तथा मर्मत हुने तर नेपालकोमा चासो नराखिएकाले नेपाली भाग डुबानमा परेको उनीहरुको भनाइ छ । उनीहरुले नदीमा तटबन्ध निर्माण र दीर्घकालिन व्यवस्थापनको माग गरे । भेटमा मन्त्रिपरिषद् अध्यक्षले भोलि नै प्राविधिक सहितको एक टोली गएर अध्ययन गरी त्यसको रिपोर्टका आधारमा व्यवस्थापन गर्ने जानकारी आश्वासन दिनुभएको भेटमा सहभागी सहरी विकास मन्त्री छविराज पन्तले जानकारी दिनुभयो । अबिरल वर्षापछि महाकाली नदीमा आएको बाढीले दार्चुला सदरमुकामसहित बैतडी, डडेल्धुरा र कञ्चनपुरको धेरै भू–भाग डुबाएको छ ।

बाढीले जिल्लामा वितण्ड मच्चाएपछि दार्चुला र कञ्चनपुर जिल्लाका लागि पचास पचास लाख राहत
केन्द्रीय दैवी प्रकोप उद्धार समितिले दार्चुला र कञ्चनपुर जिल्लालका लागि पचास-पचास लाख दिने निर्णय गरेको छ ।
गृहमन्त्रालय अन्तर्गतको उद्धार समितिले मंगलबार दार्चुला र कञ्चनपुरको स्थिति बढी जोखिमपूर्ण भएको भन्दै तत्कालका लागि पचास-पचास लाख दिने निर्णय गरेको हो ।
उद्धार समितिले ती जिल्लाका बाढीपीडित क्षेत्रहरुमा ५ सय थान कम्मल, टेन्ट, औषधी लगायतका राहत समाग्री हेलिकप्टरमार्फत पठाएको जनाएको छ । समितिले मौसम प्रतिकूल भएका कारण उद्धारमा समस्या आएको बताएको छ ।
नारायणी नदीको बहाव बढेपछि गण्डक क्षेत्रका बासिन्दा त्रसित
अबिरल परेको बर्षाका कारण नारायणी नदीको बहाव बढेपछि नवलपरासीको गण्डक क्षेत्रका बासिन्दा त्रसित भएका छन् । गएको असोजमा १२ नम्बर ठोकरको अधिकांश भाग बगाएपछि तटबन्धको माग गर्दै आएका बासिन्दाहरु बर्षासगैं जोखिम बढेपछि स्थानिय त्रसित बनेका हुन् । गण्डक क्षेत्रका १२ नम्बर ठोकरमा भारतिय पक्षले ठोकरको मर्मतको काम जारी राखेको छ । एक सय ६३ मिटर लामो ठोकरको एक सय १० मिटर बगाउदा गतबर्ष ५३ मीटर मात्र बाकी रहेको थियो । नारायणीमा पानीको बहाव बढेर दुई लाख २५ हजार प्रतीक्यूसेक पानी पुगेको छ । बाढीको अनुपात बढ्दै जादा १२ नम्बर ठोकरको करिब १२ मिटर भाग बगाइसेको स्थानियबासीले बताएका छन् । ठोकर फुट्दा नवलपरासीका १३ गाउ विकास समिति पुर्ण रुपमा डुवानमा पर्ने खतरा छ भने सयौं घरपरिवार बिस्थापित हुने भएका छन् । त्यस्तै सोमबारबाट परेको अबिरल बर्षाले रुपनदेहीको सिद्धार्थनगर नगरपालिकाका बिभिन्न वडा र केही सरकारी कार्यालय डुबानमा परेका छन । नगरपलिकका पक्लिहवा, झण्डी बजार, दरखसवा , गल्लामण्डी, हाटबजार, ज्योती पथ, श्रद्धापथ, देबकोटा चोक, सिद्धार्थ बस पार्क, बेलहिया लगायतका स्थान डुबानमा परेका हुन् । त्यसैगरी नेशनल ट्रेडिड लिमिटेड, अध्यागमन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायतका कार्यालय समेत डुबानमा परेका छन । कार्यालय डुबानमा परेपछि सेवाग्राहीको काममा असर परेको छ । गौतम बुद्ध बिमानस्थल जलबायु शाखाका अनुसार मंगलबार भैरहवामा ८६.१ मिलिलिटर पानी परेको छ ।



0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...