
न पार्टी बोल्छ न सरकार, नौ महिना कोखमा राखी जन्माएर, दुःख गरी हुर्काएको सन्तान टपक्क टिपेर लैजानेलाई के थाहा त्यसको पीडा ? तर बेपत्ताका आफन्त सन्तान आउलान् कि भनेर अझै बाटो हेरेर बसेका छन् । उग्रतारा गाविस काभ्रेकी सावित्री घिमिरे ८ वर्षदेखि छोराको नाममा बत्ती बालेर बसिरहेकी छन् । उनले कहिलेकाहीँ छोरा आउँछ कि भनेर आश लाग्ने गरेको बताइन् । अझै पनि छोरा आइसक्यो कि भन्ने उनलाई लागिरहने अनुभव सबैसामु भक्कानिंदै राख्दा सबैका आँखाबाट आँशु झरेका थिए ।
पार्टी नफुट्दासम्म दुवै माओवादीले एकै ठाउँमा बेपत्ता दिवस मनाउँथे । पीडित परिवारलाई केही हुन्छ कि भन्ने आश थियो । तर, अहिले पार्टी फुटेको छ, पार्टी फुटेसँगै शहीद र बेपत्ता पनि फरक कोटामा पर्ने हुन् कि भन्ने चिन्ता छ, धेरैलाई । तर १४ वर्षअघि राज्यले बेपत्ता पारेका पत्रकार मिलन नेपालीकी श्रीमती सविता बस्नेत पनि कार्यक्रममा सहभागी भएकी थिइन् । उनले पार्टी फुटेकोमा चिन्ता व्यक्त गरिन् ।
सशस्त्र द्वन्द्व अन्त्य गर्ने विस्तृत शान्ति सम्झौतामा २५ दिनभित्र बेपत्ताको अवस्था सार्वजनिक गर्ने भनिएको थियो । जुन ७ वर्ष पुग्न लाग्दा पनि पूरा हुने मेसोसमेत छैन । शान्ति सम्झौतामा हस्ताक्षर गरेको एकीकृत माओवादीले दुई पटक सरकारको नेतृत्व गरिसक्यो । तर, उसले पनि केही गर्न सकेन । त्यसैले होला अहिले बेपत्ता परिवारका औंला आफ्नै पार्टी नेतृत्वतिर तेर्सिन थालेका छन् ।
बेपत्ता योद्धा समाजकी संयोजक पूजा खनालले कार्यक्रममा सहभागी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनीपूर्ण भाषामा आफूहरुका समस्याप्रति गम्भीर बन्न आग्रह गरिन् ।
तर पार्टी नेतृत्वसँग पनि बेपत्ता परिवारको चित्त बुझाउन सक्ने जबाफ छैन । त्यसैले बेपत्ता परिवारको माग र पीडा एकातिर भए पनि पूर्वप्रधानमन्त्री एवं एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जबाफ अर्कैतिर फर्काइदिए । उनले आफू राति सपनामा पनि बेपत्ता, सहिद र राजनीतिक परिवर्तनका विषयमा चिन्तित रहने अनुभव सुनाए । भावुक शैलीमा कार्यक्रममा प्रस्तुत भएका प्रचण्डले सबैलाई सान्त्वना दिन सफल भए । उनले सबैलाई धैर्य गर्न आग्रह गरे ।
माओवादी द्वन्द्वका क्रममा हजारौंको ज्यान गयो । ज्यान गुमाएकाका परिवारले पनि कम पीडा भोगेका होइनन् । तर त्योभन्दा चर्को पीडा बेपत्ता परिवारको छ । उनीहरुको न लाशको टुंगो छ सासको । त्यसैले उनीहरुको यो घाउ दिनहुँ चहराइरहन्छ । तर, त्यो घाउमा मलम लगाउने काम सम्बन्धित निकायबाट हुन सकेको छैन, यो दुखद र खेदजनक कुरा हो ।
No comments:
Post a Comment