तनहुँको छाब्दी बाराहीमा दर्शनार्थीको भीड

४ असार । तनहुँको प्रसिद्ध एवं ऐतिहासिक धार्मिक स्थल छाब्दी बाराही मन्दिरमा दर्शनार्थीहरुको भीड लाग्न थालेको छ ।

छाब्दी बाराही देवीको पूजा आराधान गरे मनोकांक्षा पूरा हुने जनविश्वासका कारण भक्तजनहरुको भीड बढेको हो । मन्दिरमा देशका विभिन्न ठाउँबाट पूजा अर्चनाको लागि दर्शनार्थी आउने गर्दछन् ।

विक्रम सम्वत १८०० सालदेखि पूजाआजा हुदै आएको यस मन्दिर पश्चिमाञ्चल क्षेत्रकै प्रसिद्ध मन्दिर मानिन्छ । किम्वदन्ती अनुसार २ सय ७० बर्ष पहिला छाव्दी बाराही देवीले बालिकाको रुप धारण गरि स्थानीय जहर सिंह आले मगरको गाइको गोठमा बास मागेको र त्यसको भोलिपल्ट बालिकाले नजिकैको कुण्डमा शिला भई उत्पन्न भएपछि सोही शिलालाई देवीको रुप मानेर पूजाआजा गरिदै आएको मन्दिरका मुल पूजारी पे्रम बहादुर आलेले बताउनु भयो ।

त्यसपछि सो मन्दिरमा जहरसिंह आलेका सन्तानले मात्रै पूजारीको रुपमा पूजा आजा गर्दै आएका छन् । मन्दिरमा अहिले जहरसिंह आलेका नवौ प्रेम बहादुर आलेले पूजाआजा गर्दे आएका छन् । देवीको दर्शन र पूजाआजाका लागि देशमा विभिन्न भागबाट दैनिक सयौं दर्शनार्थीहरु आउने गरेका छन् ।

मन्दिरमा हाँस ,परेवा, कुखुरा र बोकाको बलि पनि चढाइने गरिन्छ । मन्दिरमा औसी, एकादशी र श्रावण महिना बाहेक बर्षैभरि बलि चल्ने गर्दछ । मन्दिर परिसरमा रहेको कुण्डमा विभिन्न जातका माछाहरु देख्न सकिन्छ जसमध्ये सवै भन्दा ठूलो माछा , रजबाम लाई देवीको अवतार मानेर बर्षो देखि पूजा आजा गरिदै आएको छ । छाव्दी देवीलाई मत्स्य अवतार देवीका रुपमा प्रत्यक्ष देख्न सकिने भएकाले पनि देशभरीबाट मानिसहरु पूजा आजा र दर्शनका लागि छाब्दी पुग्ने गर्दछन् ।

सदरमुकाम दमौली देखि ७ किलोमिटर पूर्वमा अवस्थित यो मन्दिर केशवटार गाविसको वडा नं. ७ मा पर्दछ । मन्दिर परिसरमा खानेपानी , शौचालय , र सरसफाईको राम्रो प्रवन्ध गरिए पनि मन्दिरसम्म पुग्ने बाटो भने जीर्ण अवस्थामा छ । त्यसकारण दर्शनार्थीलाई आवत जावतमा कठिनाई परेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...