नाटकीय रुपमा रकम लुट्न खोज्दा गाविस सचिव फन्दामा

कृष्ण ओली ।
बाजुरामा एक गाविस सचिवले सामाजिक सुरक्षा भत्ताको झण्डै ६५ लाख रुपैयाँ नाटकीय शैलीमा लुटेर गाएब बनाउन खोजेको रहस्य खुलेको छ ।

सदरमुकामबाट गाउँ लैजादै गरेको अवस्थमा नकावधारी समूहले रकम लुटपाट गरेको नाटक रचेर सबै पैसा आफै कुम्ल्याउन खोज्दा गाविस सचिव रामप्रशाद जोशी प्रहरी फन्दामा परेको हुन् । नकाबधारी समुहले लुटेर लगेको भनिएको पैसासहित गाविस सचिव जोशीलाई प्रहरीले नियन्त्रणमा लिई सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । जोशी जिल्लाको पूर्वोत्तर क्षेत्रमा पर्ने जगन्नाथ र वाई गाविसमा कार्यरत गाविस सचिव हुन् ।

जोशीले नकावधारीको नाममा सर्वसाधारणको भत्ता आफैले कुम्ल्याउन खोजेको प्रहरी अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जनकराज पाण्डेले बताउनुभयो । गत शुक्रवार राती जिल्लाको पाण्डुसैनस्थित मानबहादुर रावतको होटलमा सुतेका समयमा नकाव धारी समुहले साप्पाटा, वाई, जगन्नाथ र बाधु गाविसको ६९ लाख ९ हजार ६ सय रुपैया लुटेर लगेको खबर पाएपछि प्रहरीले तीब्र अनुसन्धान थालेको थियो । प्रहरी अनुसन्धान टोलीले लुटिएको रकम मार्तडी गाविस वडा नं. १ मा पर्ने काँधको जंगलमा गाडेर राखेको अवस्थामा फेला पारेपछि घटनाको रहस्य पत्ता लागेको हो । रुपैयाँ भेटिएपछि जोशीले आफूले नै जंगलमा गाडेर राखेको स्वीकार गरेको प्रहरी निरीक्षक प्रदिप डिसीले बताउनुभयो । निरीक्षक डिसीले भन्नुभयो– ‘यो सबै सचिव जोशीको पैसा कुम्ल्याउने नाटक हो, घटनाको रहस्य खुलिसेको भएपनि घटनाको थप रहस्य अझै खुल्न बाँकी छ ।’

जोशीले जगन्नाथ, वाई, साप्पाटा र बाँधु गाविसका गाविस सचिवको रकम समेत गायव गर्न खोजेका थिए तर आफै फन्दामा परे । सदरमुकामबाट सामाजिक सुरक्षाको रकम झिकेर जोशीसहित बाँधु गाविसका गाविस सचिव दिलबहादुर बुढा, साप्पाटा गाविसमा कार्यरत कमानसिंह कुँवर, रुगीन गाविसमा कार्यरत सरोज कुमार झा र बिच्छयाँ गाविसमा कार्यरत सचिव गणेशराज जोशी संगै गएका थिए ।

रकम लुटपाट भएको भनिएका बेला सचिव कुँवर र बुढा समेत जोशी सुतेकै कोठामा संगै सुतेका थिए । तर जोशीलाई नकाव धारी समूहले नियन्त्रणमा लिई पैसा लुट्दा संगै सुतेका अरु सचिवले समेत थाहा नपाएपछि रुपैयाँ हराउनुमा जोशीकै प्रमुख हात रहेको भन्दै प्रहरीले जोशीमाथि विशेष निगरानी गर्दै अनुसन्धान थालेको थियो ।


0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...