बाढी पीडितलाई राहतको ब्यवस्था गर्न संघीय लोकतान्त्रिक गठबन्धनको माग

काठमाडौँ, ९ असार । एकीकृत माओवादी नेतृत्वमा रहेको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठकले सुदूरपश्चिम मध्यपश्चिममा भएको बाढी पीडितलाई राहतको ब्यवस्था गर्न सरकारलाई माग गरेको छ ।

एमाओवादी पार्टी कार्यालय कोटेश्वरमा बसेको गठबन्धनको बैठकले बाढीग्रस्त क्षेत्रमा भएको भौतिक संरचनाको पुनर्निर्माण र भारतमा निधन तथा बेपत्ता भएका व्यक्तिहरुको खोजीकार्य सुरु गर्र्र्न सरकारलाई माग गरेको हो । बैठकले सरकारले मंसिर ४ गते घोषणा गरेको दोस्रो संविधानसभाको चुनावमिति र ब्राहमण, क्षेत्री, ठकुरी, दशनामीलाई खस आर्यको रुपमा परिभाषित गरेकोप्रति स्वागत गरेको छ ।

बैठकमा एकीकृत माओवादी र मधेशी मोर्चाको बीचमा चुनावी तालमेल र साझा घोषणा पत्र निर्माणका बिषयमा समेत छलफल भएको थियो । आन्दोलनमा रहेका दलहरुसँग छलफल गरेर चुनावी बातावरणमा केन्द्रित गर्ने सहमति भएको छ । गठबन्धनमा २१ दल आबद्ध भएपनि आइतबारको बैठकमा १५ दल मात्र सहभागी भएपछि थप निर्णय हुन नसकेको नेताहरुले बताएका छन् ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले मध्य र सुदूरपश्चिमका बाढीपीडितलाई राहत र पुनर्निर्माण कार्य छिटो गर्न सरकारलाई आग्रह गरेको छ । आइतबार विहान बालुवाटार पुगेको नेता लोकेन्द्रबहादुर चन्द नेतृत्वमा गएको टोलीले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो आग्रह गरेको हो ।

टोलीले राहत प्रयाप्त नभएको भन्दै थप राहतको व्यवस्था गर्न पनि माग गरेको छ । टोलीमा सहभागीहरूले दार्चुला र कञ्चनपुरबाहेकका जिल्लामा पनि व्यापक क्षति भएको भन्दै ती जिल्लामा राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । ज्ञापन पत्र बुझ्दै अध्यक्ष रेग्मीले सरकारले बाढीपीडितहरूका लागि राहत र पुनस्र्थापनामा कुनै कसुर बाँकी नराख्ने आश्वासन दिनुभएको थियो ।

भेटमा चुनावको विषयमा पनि छलफल भएको थियो । टोलीसँग अध्यक्ष रेग्मीले असन्तुष्ट दलहरू चुनावमा आउने वातावरण बन्दै गएको भन्दै सहयोगका लागि आग्रह गर्नुभएको नेता चन्दले जानकारी दिनुभयो । नेता चन्दले असन्तुष्ट दलहरूलाई सहमतिमा नल्याई चुनाव गर्न गाह्रो हुने भन्दै सबैदलसँग छलफल गर्न सुझाव दिनुभएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...