पुरातत्व विभागमा स्वेच्छाले दिएका पुरातात्विक ग्रन्थ धेरै

काठमाडौं । पुरातत्व विभागस्थित अभिलेखालयमा हाल करिब ३० हजार ग्रन्थ सङ्कलित छन्, तीमध्ये अधिकांश ग्रन्थ व्यक्तिले स्वइच्छाले दिएको पाइएको छ ।

धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वका पुरातात्विक ग्रन्थ संकलन गरिने सो अभिलेखालयमा सङ्ग्रहित सामग्री व्यक्तिविशेषले आफ्नो स्वइच्छाले दिएका धेरै छन् । गत आर्थिक वर्षमा करिब २ सयको संख्यामा ग्रन्थ संकलन गरिएको थियो भने यस वर्ष करिब ४० वटा संकलन गरिसकेको छ ।

यदि कसैले पुरातात्विक वस्तु अभिलेखालयलाई बेच्न चाहन्छ भने अभिलेखालयले त्यसको मूल्य निर्धारण गरी व्यक्तिसँग किन्ने व्यवस्था पनि रहेको छ, यसकारण आफूसँग भएका पुरातात्विक महत्वका सामग्री बेच्न आउनेको संख्या पनि निकै छ । अभिलेखालयका अनुसन्धान अधिकृत राजु रिमाल भन्छन्– ‘धेरैजसो वृद्ध व्यक्तिले आफ्नो मृत्युपछि आफूसँग भएको पुरातात्विक महत्वको वस्तुलाई आफ्ना सन्तानले सुरक्षित राख्न सक्दैनन् भन्ने लाग्नेहरूले अभिलेखालयलाई हस्तान्तरण गर्न आउने गरेका छन् ।’ आफ्नो मृत्युपछि पनि त्यो वस्तु सुरक्षित रहोस् भन्ने चाहनाले नै यस्ता व्यक्तिहरूले आफूसँग भएका सामग्री दिने गरेको र सोबापत अभिलेखालयले सम्मानपत्र प्रदान गर्ने गरेको उनले जानकारी दिए ।

कोही भने आफूसँग भएका पुरातात्विक वस्तु अरूले पनि हेरुन्, तर त्यो वस्तु आफैंसँग रहोस् भन्ने सोच भएकाले अभिलेखालयमा माइक्रोफिल्म बनाउनका लागि दिने गरेका छन् । यसबाट सो पुरातात्विक वस्तुको अध्ययन तथा जानकारी धेरैले गर्न सक्दछन् ।

विसं २००८ मा वीर पुस्तकालयमा सङ्ग्रहित विभिन्न हस्तलिखित सामग्री पुरातत्व विभागमा ल्याएर अध्ययन तथा सुरक्षित गर्न थालिएको थियो । विसं २०२४ मा अभिलेखालय स्थापना गरिएपछि ती सामग्री अभिलेखालयलाई हस्तान्तरण गरिएको थियो ।

अभिलेखालयमा रहेका ग्रन्थमध्ये विसं ८६७ तिरको स्कन्द पुराणको ग्रन्थलाई सबैभन्दा पुरानो मानिन्छ । त्यो भन्दा पुरानो अर्थात् पाँचौं, छैटौं शताब्दीका ग्रन्थसमेत अभिलेखालयमा रहेको छ, तर मिति स्पष्ट नभएकाले दाबी भने गर्न नसकिएको अधिकृत रिमालको भनाइ छ ।

अभिलेखालयमा रहेका ग्रन्थमध्ये लिपीका आधारमा १२–१३ वटा छन् । तीमध्ये अधिकांश संस्कृत, मैथिली, नेवारीलगायतका आठ–नौवटा भाषामा लिपिबद्ध छन् । त्यसबेला कागजको विकास नभएकाले ताडपत्र, भोजपत्र, नीलपत्रलगायतमा ग्रन्थ बनाइएका छन् । इतिहास, वेद, धर्मसंस्कृति, दर्शन, बौद्ध, पूर्वीय वाङ्मयलगायतका विधाका ग्रन्थ छन् ।

त्यस्ता ग्रन्थको गाता काठबाट निर्माण गरिएका, देवदेवताका चित्र अंकित, विभिन्न रङका छन् । अत्यन्त सुन्दर ती गातामध्ये महत्वपूर्ण चारवटा ग्रन्थका गाता सन् १९९० मा पेरिसको एउटा व्यक्तिगत रूपमा सङ्ग्रहित गरिएको अवस्थामा भेटिएको थियो । ती गातालाई हालसालै अमेरिकामा लिलामीमा राखिएको अवस्थामा भेटिएपछि अभिलेखालयमा रहेको सो पुरातात्विक वस्तु चोरी भएको कुरा बाहिर आएको थियो । यस सम्बन्धमा छानबिन समिति नै गठन गरेर कार्यअगाडि बढाइए पनि छानबिन टोलीले अध्ययनपछि तयार पारेको प्रतिवेदन बाहिर ल्याएको छैन ।

सन् १९७० ताका जर्मनी र नेपालको संयुक्त परियोजनाले अभिलेखालयमा माइक्रोफिल्म गर्ने काम सुरु गरेका बेला उक्त गाताको चोरी भएको हुनसक्ने अधिकृत रिमाल बताउँछन् । परियोजनाले सन् १९९९ मा मात्र कार्य सम्पन्न गरेको थियो । आवश्यक प्रक्रिया पु¥याएर सो सामग्रीलाई नेपाल फर्काउने तयारी भइरहेको पनि उनँले जानकारी दिए ।

यस्ता खालका चोरी निकासीको सम्भावनालाई दृष्टिगत गर्दै अभिलेखालयको पुरातात्विक सामग्री राखिएका कक्षहरूमा सिसिटिभी जडान गरिएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...