कैलालीका बाढी पीडितलाई नेपाली सेनाबाट उद्धार

५ असार । कैलालीको धनसिंहपुर गाविस श्रीलंका मल्लाहटोलका बाढी पीडितलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
मल्लाहटोलका २२ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरी राहत सामाग्री वितरण गरिएको हो । अविरल वर्षापछि आएको बाढीले कैलालीमा २ हजार भन्दा घरपरिवार प्रभावित भएका छन् । रेडक्रस कैलालीका अनुसार तीमध्ये ६ सय ३ घरपरिवार विस्थापित भएका छन् ।

प्रारम्भिक तथ्यांक अनुसार धनसिंहपुरमा २ सय ५०, नारायणपुरमा २ सय ५०, पथरैयामा १ सय ५०, बलियामा १ सय १५ र टीकापुर नगरपालिकामा २ सय घरपरिवार विस्थापित भएका हुन् । जोशिपुर, थापापुर, भजनी, खैलाड, लालबोझी, पहलवानपुर, पवेरा, रतनपुर लगायतका दर्जन बढि गाविसमा पनि थुप्रै घरपरिवार विस्थापित भएको रेडक्रसले जनाएको छ । कैलालीमा कर्णाली र मोहना नदीमा आएको बाढीबाट धेरै घरपरिवार विस्थापित भएका हुन् ।

विस्थापित परिवार नजिकैको विद्यालय, आफन्तको घर र जंगल क्षेत्रमा बसिरहेका छन् । केही प्रभावित क्षेत्रका बासिन्दा भने घर फर्किएका छन् । बाढी प्रभावित क्षेत्रमा राहत पु¥याउने प्रयास भैरहेको छ । धनसिंहपुर गाविसको श्रीलंका मल्लाहमा अझै केही परिवार बाढीमा फसेको बताए पनि उनीहरु सुरक्षित रहेको रेडक्रस उपशाखा धनसिंहपुरका सभापति भीमबहादुर महरले जानकारी दिनुभएको छ । त्यस्तै कञ्चनपुरमा पनि महाकाली नदीको बाढीले १ हजार भन्दा बढी घर प्रभावित भएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...