दार्चुलामा बाढीले एक महिलासहित दर्जनौं घर बगायो(फोटो फिचरसहित)

३ असार । अविरल वर्षसँगै महाकाली नदीमा आएको बाढीले दार्चुलामा एक महिलालाई बगाएको छ ।

घरनजिकै आएको बाढी हेर्न जाँदा धाप गाविस वडानम्बर ५ की ३८ वर्षीया सरस्वती रैखोलालाई बगाएको प्रहरीले जनाएको छ ।

त्यस्तै, बाढीले दार्चुला सदरमुकाम खलंगाका पाँच सरकारी कार्यालयसहित ३२ भन्दा बढी घर बगाएको छ । बाढीले बाङाबगडका चार र गल्फैका दुई घर गरी छ घर बगाएको छ । त्यस्तै, अपिनाम्पा संरक्षण कार्यालय, जिल्ला वन कार्यालय, भू–संरक्षण कार्यालय र जिल्ला अस्पताल भवन बगाएको छ । बाढीबाट अझै धेरै घर तथा कार्यालय जोखिममा परेका छन् । त्यस्तै जिल्ला प्रहरी कार्यालय र नेपाल दूर सञ्चार प्राधिकरणको कार्यालय बाढीको उच्च जोखिममा छन् ।

त्यसैगरी, प्रहरी कार्यालय र प्राधिकरणको भवनका आधा भाग बगाइसकेको छ भने जिल्लामा रहेको खुलामञ्च पनि आधा बगाएको छ । जिल्ला अस्पतालको शवगृह र औषधी वितरणकक्ष बाढीले बगाइसकेको छ भने बाँकी क्षेत्र पनि उच्च जोखिममा रहेका छन् । स्थानीय प्रशासनले सुरक्षित स्थानतर्फ सर्न सूचना जारी गरेको जनाएको छ । नेपाली सेना, प्रहरी तथा रेडक्रसले जिल्ला अस्पतालमा रहेका उपकरण तथा औषधी सुरक्षित स्थानतर्फ सारेका छन् ।

त्यसैगरी, बाढीले गल्फैदेखि नमस्कारसम्मको भू–भागमा तीब्र रूपमा कटान गरिरहेको छ । बाढीले जिल्लाका धाप, दत्तु, उकु र लाली गाविसमा पनि कटान गरिरहेको प्रहरीले जनाएको छ । शनिबारबाट परेको पानी पर्न नरोकिएपछि महाकाली नदिमा पानीको बहाव बढेको हो ।

यसैबीच, महाकाली नदीको बाढीमा फसेका २३ जनाको उद्दार गरिएको छ । नदीको दुई भँगालोबीचमा आइतबारबाट फसेका मजदुरहरूलाई सोमबार विहान उद्धार गरिएको थियो । साँझ घर फर्किने क्रममा नदीमा एक्कासी आएको बाढी तर्न नसक्दा उनीहरू भँगालोमा फसेका थिए । उनीहरूलाई सेना र प्रहरीले उद्दार गरेका थिए ।
बाढीले तहस नहस दार्चुलाको जनजीवन(फोटो फिचर)











,

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...