नेपालमा हरेक वर्ष ३ हजार मृगौला रोगी बढ्दै

असार । नेपालमा वर्षेनी ३ हजार मृगौलाका नयाँ रोगी थपिने गर्छन् ।

पहिलेका रोगीको त नेपालमा कुनै तथ्य नै भेटिदैन । विभिन्न अस्पतालमा फरक फरक तरिकाले उपचार गराउँदा नेपालमा मृगौलाको समस्या भएका रोगीको बारेमा कुनै जानकारी हुन सकेको छैन । मृगौलाले काम गर्न छोडेपछि महँगो र लगातार उपचार गराईरहनु पर्ने हुन्छ ।
डायलासिस गर्न होस् वा मृगौला प्रत्यारोपण, धेरै महँगो र झन्झटिलो प्रकृया हो । यस्तै समस्या परेकाहरुलाई सेवा दिन भनेर एकबर्ष अघि सरकारले भक्तपुरमा मानव अङ्ग प्रत्यारोपण केन्द्र खोलेको छ ।

नेपालका प्रायःजसो अस्पतालमा एकचोटी हेमोडायलायसिस गर्न ४ देखि ५ हजार लाग्छ । तर मानव अङ्ग प्रत्यारोण केन्द्रले त्यसको आधामा नै हेमोडायलायसिस सेवा दिइरहेको छ । वडा कार्यालयको सिफारिस लिएर आउने कमजोर आर्थिक अवस्थाका बिरामीले यस्तो सेवा निःशुल्क समेत पाउँछन् । अस्पतालमै भेटिएका राम साहिलले आफूले राम्रो सुविधा पाएको बताए ।

केन्द्रमा अहिलेसम्म २ सय जनाले हेमोडायलायसिसको सेवा पाएका छन् । दिनमा सरदर ४० जनाले हेमोडायलायसिस गराउने गरेको तथ्याँक छ । केन्द्रले हरेक हप्ता मृगौला प्रत्यारोपण पनि गर्छ । अहिलेसम्म ८ जना रोगीको मृगौला प्रत्यारोपण गरिसकेको केन्द्रमा यो सेवा सस्तो मात्रै छैन छिटो पनि छ ।
भारत र नेपालकै अरु अस्पताल समेत चहारेर पालो नपाइरहेको अवस्थामा भक्तपुरमा खुलेको मानव अङ्ग प्रत्यारोण केन्द्रमा आएर मृगौला प्रत्यारोपण गरेकी मिना उप्रेतीका कुराले पनि यहि भन्छ ।

केन्द्रले सुरुमा मृगौला सम्बन्धी सम्पूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखेको थियो । यसमा सफल भइसकेको केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए । नेपालमा वर्षेनी ३ हजार मृगौलाका नयाँ रोगी थपिन्छन् । मृगौला बिग्रिसकेपछि केहि समय हेमोडायलासिस गरे पनि मृगौला फेर्नुको बिकल्प हुन्न । तर मृगौला प्रत्यारोपण अहिले पनि धेरै नेपालीका लागि आर्थिक हिसावले कठिन र कम सेवा पाईरहेको क्षेत्र हो ।

त्यसैले त्यस्ता बिरामीलाई लक्षित गर्दै मानव अंग प्रत्यारोपण सेवा दिने छुट्टै अस्पताल खुल्नु सह्रानिय छ । बिरामीको चाप बढ्दै गइरहेको अवस्थामा सेवालाई अझ चुस्त र व्यापक बनाउन पनि उत्तिकै ध्यान दिईनु पर्छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...