बाढीपहिरो पीडितका लागि सरकारी राहत अपुग भएको दलका नेताको दाबी

८ असार । विभिन्न दलका नेताहरूले सुदूरपश्चिमका बाढीपीडितलाई सरकारी राहत अपुग भएको बताएका छन् ।
काठमाडौमा शनिबार भएको कार्यक्रममा कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले सरकारी राहत अपर्याप्त भएको भन्दै विस्थापित परिवारका लागि तत्काल खाद्यान्न र औषधीको व्यवस्था गर्न माग गर्नुभयो ।

उहाँले दार्चुला जिल्लालाई तत्काल संकटग्रस्त क्षेत्र घोषणा गर्न पनि सरकारसँग माग गर्नुभयो । नेकपा एमाले नेता भीम रावलले भारतले धौलीगंगा बाँध खोले/नखोलेको विषयमा अनुसन्धान नगरेको प्रति आपत्ति जनाउनुभयो । उहाँले सरकारले पीडितका लागि छुट्टाएको ३५ हजार रकम अपुग भएको भन्दै प्रतिपरिवार दुई लाख रकम दिनुपर्ने माग गर्नुभयो ।

एकीकृत नेकपा माओवादीका नेता लेखराज भट्टले बाढीबाट भएको क्षतिको विवरण संकलन र तटबन्ध निर्माणका लागि सेना, सशस्त्र प्रहरीलगायतको टोली खटाउन माग गर्नुभयो । उहाँले भारत–नेपालबीच महाकाली नदीको विषयमा भएका सन्धीहरूको समीक्षा गर्नुपर्ने बेला आएको जिकिर गर्नुभयो ।

कार्यक्रममा भौतिक तथा योजनामन्त्री छबिराज पन्तले सरकारले उचित राहतको व्यवस्था गरेको दाबी गर्नुभयो । मन्त्री पन्तले भारतीय पक्षले धौलीगंगाको ढोका खालेर क्षति भएको भन्दै एकतर्फी रूपमा आरोप लगाउन नहुने भन्दै संयुक्त संयन्त्र बनाएर अनुसन्धान गरिनुपर्ने बताउनुभयो । उहाँले सरकारले घोषणा गरेको राहत कम भए पुन थप गर्दै जाने आश्वासनसमेत दिनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...