नेकपा–माओवादीलगायतका दलको बन्दले देशभर सामान्य प्रभाव (अपडेट)

२ असार । नेकपा–माओवादीसहित दलले आइतबार गरेको नेपाल बन्दले देशभरको जनजीवन प्रभावित बन्यो ।

उपत्यकामा विहानैदेखि भाडाका गाडी चलेका छैनन् । तर, निजी गाडी भने फाट्टफुट्ट चलेका थिए । बन्दका कारण शिक्षण संस्था, कलकारखानालगायत ठप्प भए । एम्बुलेन्स, कुटनीतिक नियोग, प्रेस, पर्यटक सवार गाडी र उपभोग्य वस्तु बोकेका गाडीहरू भने निर्वाध आवतजावत गर्न दिइएको थियो ।

सार्वजनिक सवारीसाधन चल्न नसक्दा सर्वसाधारणले भने सास्ती खेप्नु परेको थियो । बन्दकर्ताहरू विहानैदेखि चोकचोकमा जम्मा भई यातायात आवतजावतमा रोक लगाएका थिए । बन्दका क्रममा अप्रिय घटना हुन नदिन काठमाडौंका चोक–चोकमा सुरक्षाकर्मीलाई तैनाथ गरिएका थिए ।

यसैबीच, सिन्धुलीमा ताम्सालिङ् राष्ट्रिय दलका जिल्ला अध्यक्ष धनलाल स्याङ्बोलाई प्रहरीले गिरफ्तार गरेको थियो । यसैबीच, बन्दकर्ताले मकवानपुरमा एउटा ट्रक तोडफोड गरेका थिए । उनीहरूले हेटौडा बसपार्कनजिक ना. ४ ख ४६०४ नम्बरको ट्रक तोडफोड गरेका हुन् ।

आन्दोलनरत दलहरुले रेग्मी सरकारले निर्वाचनको मिति तोकेको भन्दै बन्द आह्वान गरेका हुन् । उनीहरूले चेत्र १ गते भएको प्रमुख दलहरूबीचको ११ बुँदे सहमति खारेज हुनुपर्ने, चार दलीय सिण्डिकेटको अन्त्य हुनुपर्नेलगायतका माग पनि राखेका छन् ।

सरकारले वार्ताका लागि आह्वान गरेपनि सहमतिबिना चुनावको मिति घोषणा गरिएको भन्दै आन्दोलनरत दलहरू वार्तामा नबस्ने अडान राखेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...