चिनिँया अधिकारी उच्चस्तरीय भेटवार्तामा, चीनको चार अर्ब सहयोग

११ असार । चीनले संविधानसभा चुनाव र विभिन्न विकास–निर्माणमा नेपाललाई करिब ४ अर्ब रुपैयाँ सघाउने भएको छ।

मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी र दुईदिने नेपाल भ्रमणका क्रममा सोमबार काठमाडौं आइपुगेका चिनियाँ स्टेट काउन्सिलर याङ जेइचीको उपस्थितिमा मंगलबार त्यससम्बन्धी सहमतिपत्रमा हस्ताक्षर हुँदैछ।
चीनले ुबाइलेट्रियल फ्रेमवर्क एग्रिमेन्टु अन्तर्गत निर्वाचन र सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माणका लागि उक्त रकम सघाउन लागेको हो। त्यसमध्ये संविधानसभा निर्वाचनका लागि एक करोड युआन (करिब १६ करोड रुपैयाँ) र प्रतिष्ठान निर्माणका लागि ३ अर्ब ६० करोड रुपैयाँ आउने परराष्ट्र मन्त्रालयले जनाएको छ।
डेढ वर्षअघि तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको नेपाल भ्रमणका क्रममा प्रतिष्ठान निर्माणमा आर्थिक सहयोग दिने सैद्धान्तिक सहमति भएको थियो। उक्त भ्रमणमा जेइची विदेशमन्त्रीका रुपमा सम्मिलित थिए। चीनले त्यतिबेला विभिन्न परियोजनामा ७ सय ५० चिनियाँ युआन (करिब १२ अर्ब रुपैयाँ) सहयोग गर्ने घोषणा गरेको थियो।
सिंहदरबारस्थित मन्त्रिपरिषद कार्यालयमा मंगलबार एक कार्यक्रमबीच निर्वाचन, प्रतिष्ठान निर्माण र सहायतासम्बन्धी तीन सहमतिपत्रमा अर्थ सचिव शान्तराज सुवेदी र चिनियाँ उपवाणिज्यमन्त्री जियाङ योपिङले हस्ताक्षर गर्नेछन्।

सोमबार अपराह्न काठमाडौं आइपुगेका जेइचीले संविधानसभा निर्वाचन घोषणाको स्वागत गर्दै त्यसमा चीनको सहयोग रहने बताए।
गृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेसँग सोमबार साँझ राजधानीस्थित होटल याक एन्ड यतीमा भएको द्विपक्षीय बैठकमा जेइचीलाई उद्धृत गर्दै परराष्ट्र प्रवक्ता अर्जुनबहादुर थापाले भने, ुसंविधानसभा निर्वाचनले नै नेपालमा स्थिरता कायम गर्न सक्छ ।’
उनले चुनाव मिति घोषणाको स्वागत गर्दै निर्वाचनलाई आवश्यक सबै प्रकारका सहयोग उपलब्ध गराउन चीन तयार रहेको पनि जनाए।
बैठकमा नेपाल सरकारका छजना सचिव कृष्णहरि बास्कोटा, दुर्गाप्रसाद भट्टराई, शान्ताराम सुवेदी, जनार्दन नेपाल, तुलसी सिटौला र नवीन घिमिरेसमेत थिए। चीनका तर्फबाट पनि जेइचीका साथ उपविदेशमन्त्री जियाङ यिसुई, उपवाणिज्यमन्त्री जियाङ योपिङ, सार्वजनिक सुरक्षासम्बन्धी उपविदेशमन्त्रीलगायत थिए।
द्विपक्षीय बैठकमा थप परियोजनामा समेत सहयोग गर्न चिनियाँ पक्षसँग आग्रह गरिएको थियो। पयर्टन र जलविद्युत क्षेत्रमा चीनको सहयोग मागिएको थियो। पश्चिम सेती जलविद्युत परियोजनामा सहयोग गर्न पनि चीनलाई विशेष आग्रह गरिएको थियो।
जेइची आज साँझ स्वदेश फिर्ताहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...