अविरल वर्षाका कारण झापामा दुई जनाको मृत्यु, २ वेपत्ता

६ असार । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण झापामा दुई जनाको मृत्यु भएको छ । त्यस्तै खोलाले बगाउँदा २ जना वेपत्ता भएका छन् । बाढी घरमा पसेपछि ५०० भन्दाबढी परिवारलाई विस्थापित बनेका छन् ।

जिल्लाको दक्षिणी भेगको पाँचगाछी–१ मा डुबानमा परेका व्यक्तिलाई प्रहरी टोलीले उद्धार गरिरहेको बेलामा एक महिलाको शव फेला फेला परेको हो । करिब ४० वर्षीया ती महिलाको नाम र वतन खुल्न नसकेकाले अन्यत्रबाट बगेर आएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
त्यसैगरी, शरणामती–२ बस्ने राजु कर्माकारको दुई वर्षिय छोरा रोमनको आफ्नै घरनजिकैको खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दमकस्थित रतुवा खोलामा दाउरा टिप्ने क्रममा दुई युवकलाई सोही खोलाले बगाएर बेपत्ता पारेको छ । दमक–१२ बस्ने २५ वर्षिय शिव राई र दमक–१३ बस्ने २४ वर्षिय धिरज ताजपुरियालाई खोलाले बगाएको हो । जिल्लामा बाढीका कारण ७११ घर डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पाँचगाछी–१मा कमल खोला पसेर ४५ परिवारलाई विस्थापित पारेको छ, शरणामती–३ को पुरानो बजार टोल विरिङ्ग खोलामा पानी पसी १०० घर, वडा नं ५ को चन्द्रबस्तीमा ९२ घर र ९ वडाको पुरै बस्ती डुबानमा परेका छन् । दमक नगरपालिकाको सबै वडा प्रभावित भएका छन् । वडा नं १२, १५, १७, १८ र १९ को दर्जनौं घरका वासिन्दा विस्थापित भएका छन् । यसका साथै भद्रपुर नगरपालिकाको २, ३, ४, १२, १४ रु १५ को ५० परिवारको घर डुवानमा परेको छ । घैलाडुब्बा, चारपाने, सुरुङ्गा, चकचकी, तोपगाछी, महाभारा, चन्द्रगढी, महेशपुर, राजगढ, हल्दीबारी, खुदुनाबारी, शिवगञ्ज गाविसका सयौँ घर डुवानमा परेका छन् । यसका साथै केचना, पथरिया, टाघनडुब्बा, पाठामारी, बनियानी, जलथल र कुमरखोद गाविस पनि डुवानमा परेका छन् ।
यसैबीच, झापाका प्रजिअ एकमणि नेपालको अध्यक्षतामा मंगलबार बसेको जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले जिल्लाका अतिप्रभावित विस्थापित भएका परिवारलाई साँझदेखि तत्काल राहत सामग्रीको रुपमा आवश्यक च्यूरा, चिनी र चाउचाउ वितरणको व्यवस्था मिलाउन निर्देशन दिनु भएको छ ।
बाढीबाट पीडित परिवारलाई बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र रेडक्रसकर्मी उद्धारमा खटिएका थिए । यसका साथै वर्षाका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापा खण्डको लखनपुर–१ मा पुल निर्माणको क्रममा निर्माण गरिएका वैकल्पिक बाटोलाई खोलाले बगाएपछि उक्त बाटोलाई मर्मत गरिएपछि अपराह्नदेखि एकतर्फी यातायात सेवा सुचारु भएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...