त्रिकोणात्मक एक दिवसीय क्रिकेट ‘भारतको पहिलो जित’

२२ असार । वेस्टइन्डिजमा जारी त्रिकोणत्मक एक दिवसीय क्रिकेट प्रतियोगितामा भारतले पहिलो जित दर्ता गरेको छ ।
लतागारको दुई खेलमा हार वेहोरेको भारतले घरेलु टोली वेस्ट इन्डिजलाई डर्कवर्थ लेविस नियमका आधारमा एक सय दुई रनले पराजित गरेको हो । बर्षाले अवरुद्ध भएपछि खेल ३९ ओभरमा झारिएको थियो । जितसँगै भारतले फाइनल प्रवेशको सम्भावनालाई जिवितै राखेको छ ।

शुक्रवार राति पोर्ट अफ प्रिन्समा भएको खेलमा पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाउँदै तीन सय ११ रन बनाएको थियो । भारतका लागि कप्तान बिराट कोहलीले सतकीय पारी खेलेका थिए । उनले एक सय २ रन बनाएको थिए । भारतको इनिङमा ओपनर शिखर धवनले ६९ र रोहित शर्माले ४६ रनको योगदान दिएका थिए । मुरली बिजयले २७ रबिचन्द्र आश्विनले नटआउट २५ रनको योगदान दिए ।

३९ ओभरमा दुई सय ७४ रनको लक्ष्य पछ्याएको इन्डिज एक सय ७१ रनमा सिमित भएको थियो । ३४ ओभरमा अल आउट हुँदै घरेलु टोलीले एक सय ७१ रनको जोडेको हो । उसका लागि ओपनर जेम्स चाल्र्सले सर्वाधिक ४५ रनको योगदान दिए । क्रिस गेल १० रनमै आउट हुँदा केमर रोचले ३४ रनको योगदान दिए । मध्यक्रमका व्याट्सम्यानको निराशाजनक प्रदर्शनका कारण इन्डिजको प्रतियोगितामा दुई खेलको लगातारको जितमा पूर्णबिराम लाग्यो ।

बलिङतर्फ इन्डिजका टिनो बेस्टले दुई तथा केमर रोच, ड्वायन ब्राभो, मार्लन स्यामुयल्स र केरन पोलार्डले एक–एक विकेट लिए । यस्तै भारतका भुवनेश्वर कुमार र उमेश यादवले तीन–तीन तथा इसान्त शर्मा र रबिन्द्र जडेजाले दुई –दुई विकेट लिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...