पूर्वाञ्चलमा बाढीबाट ८ जनाको मृत्यु सयौं विस्थापित - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

पूर्वाञ्चलमा बाढीबाट ८ जनाको मृत्यु सयौं विस्थापित

Share This
विराटनगर, २८ असार । अविरल वर्षासँग आएको बाढीका कारण पूर्वका जिल्लाहरूमा ८ जनाको मृत्यु भएको भने सयौं विस्थापित भएका छन् ।
पूर्वाञ्चलका झापा, मोरङ, सुनसरी, सप्तरीलगायत जिल्लामा कयौं विस्थापित भएका छन् ।
सुनसरी तनमुना ५ का ३५ वर्षीय दुखीलाल उराउको टेंग्राहा खोलामा डुबेर मृत्यु भएको छ भने सिराहा सिलोर्बा पछवारी ७ का चारवर्षे बालक भैरव यादवले पोखरीमा डुब्दा ज्यान गुमाएका छन् ।
यस्तै खोलाले बगाउँदा मोरङ सिंहदेवीका सुजन लिम्बूको मृत्यु भएको छ । ओखलढुंगामा डुबेर एक जनाले ज्यान गुमाएका छन् भने विराटनगर–५ का १८ वर्षीय निशान्त न्यौपानेको पास्ता खोलामा डुब्दा मृत्यु भएको छ ।विराटनगरमै करिब ४० वर्षकी महिला मृत भेटिए पनि सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

यसैगरी खाडलमा जमेको पानीमा डुबेर झापामा दुई वर्षे बालक र एक महिलाको ज्यान गएको छ । झापामै बगेर तीनजना बेपत्ता भएका छन् । विभिन्न खोलाको बाढीमा परी शिव राई, धीरज ताजपुरिया र पहिचान नखुलेका अर्का एक युवक बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बाढी पसेर घर जोखिममा परेपछि मोरङका विभिन्न गाउँका हजारभन्दा बढी विस्थापित परिवारमध्ये पानी पर्ने क्रम मत्थर भएपछि बिहीबारबाट केही घर र्फकन थालेका छन् । विभिन्न खोलामा आएको बाढी बस्ती र घरमा पसेपछि उनीहरू आफन्त, विद्यालय, गाविस कार्यालयलगायत सार्वजनिक स्थलमा शरण लिएर बसेका थिए । अझै पनि दर्जनौं परिवार सार्वजनिक स्थलमै बस्न बाध्य छन् ।

कोसीमा पानीको बहाव घटबट हुने क्रमसँगै सुनसरीको श्रीलंका टप्पु क्षेत्रमा कटान सुरु भएको छ । पाँच वर्षअघि पूर्व सोझिएर तटबन्ध भत्काएको कोसीको बहावलाई च्यानलमार्फत पश्चिमतर्फ सोझ्याइएपछि कोसीको भंगालोबीचमा पर्ने श्रीलंका टप्पु प्रभावित बनेको हो । यसैगरी पूर्वी तटबन्धलाई पानीको तीव्र बहावबाट जोगाउन बनाइएका केही संरचनामा कटान हुन थालेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here