त्रिशुली थ्री ए जलविद्युत आयोजनाको सम्पूर्ण काम ठप्प

२० असार । अबको ६ महिना भित्र पूरा गरिसक्नुपर्ने माथिल्लो त्रिशुली थ्रि ए जलविद्युत आयोजना काम तिव्र गतिमा अगाडी बढाउनु पर्नेमा अहिले ठप्प नै भएको छ । ६० मेगावाट क्षमताको परियोजनालाई १ सय ४५ बनाउनु पर्ने दलहरुले नयाँ शर्त तेस्र्याएका छन् भने प्रभावित बासिन्दाले आयोजना निर्माणबाट केही लाभ नपाएको गुनासो गरेका छन् ।


माथिल्लो त्रिशुली थ्रीए जलविद्युत अयोजनाको क्षमतालाई ६० बाट १ सय ४५ मेगावाट बनाउनुपर्ने माग राखेर राजनीतिक दल तथा सरोकारवालाहरुले आयोजनाका सबै कार्यलयहरुमा गरेको तालाबन्दीले योजना नै अनिश्चित बनेको छ । नुवाकोेट र रसुवाका राजनीतिक दलहरुले आयोजना प्रमुख, थ्रीएको आयोजना स्थल, परियोजनाको बाँध, उत्पादन गृह तथा थ्रीएको साइड कार्यालय लगायतका सबै कार्यालयमा गरेको तालाबन्दीले आयोजना जोखिममा पर्ने देखिएको हो । स्थानीयलाई साथ लिएर राजनीतिक दलहरुले आयोजनाको क्षमतालाई ६० बाट १ सय ४५ मेगावाट बनाउनुपर्ने भन्दै आन्दोलन जारी राखेका छन् ।

स्थानीयवासीले निर्माणस्थलमा अस्पताल, विद्यालय, अधिग्रहण जग्गाहरुको मुआब्जा वितरण गर्न, बेत्रावती–मैलुङ सडक निर्माण पूरा गनुपर्र्ने बताएका छन् । प्रभावित बासिन्दालाई १० प्रतिशत निःशुल्क सहित २० प्रतिशत शेयर अनिवार्य गर्न, उत्पादनको १ प्रतिशत नाफा स्थानीयक्षेत्रमा खर्च गर्ने नीति बनाउन तथा आयोजना निर्माणको क्रममा गराइएको विष्फोटनबाट प्रभावितलाई यथाशक्य स्थान्तरण गर्न माग गरेका छन् ।

त्रिशुली थ्री बी क्षमता निर्धारण पनि थ्रीएबाट निर्धारण हुने भएकाले जिल्लालाई आर्थिक समृद्धिको आधारमा स्थानीयको मागको वेवास्था नगर्न चेतावनी दिएका छन् । रसुवाको पाँच र नुवाकोटका दुई गाविसका नागरिकहरुले आयोजना निर्माणबाट आफूहरुले अबसर भन्दा बढी सास्ती बेहोरेको गुनासो गरेका छन् ।

उता, अनिश्चितकालीन तालाबन्दीले आयोजनाको निर्माण तोकिएको समयमा पूरा गर्न नसक्ने निर्माण पक्षले चेतावनी दिएको छ ।

सरकारलाई क्षमता बढाउन प्रभावित बनाउन तल्लिन रहेको चिनियाँ कम्पनीले दलहरुको क्षमता वृद्धिको माग सकारात्मक र स्थानीयको सामाजिक क्षेत्र सुधारको माग विस्तारै पूरा गर्ने आवश्वासन दिएको छ । एक दिन आयोजना बन्द हुदाँ निर्माणमा एक साता ढिलो र एक लाख रुपैयाँ भन्दा बढी रकम महङ्गो पर्ने निर्माणपक्षले जनाएको छ । चिनियाँ कम्पनी सिजिजिसीले निमार्ण गर्दै आएको थ्रीए ईपीसी मोडलमा निर्माण सम्झौता भएकाले समयमा योजना पूरा नभए परियोजना स्वत खारेजी हुनेछ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...