इजिप्टमा सैनीक कु, राष्ट्रपति मुर्सीलाई अपदस्थ

२० असार । इजिप्टमा सेनाले कू गरेको छ । राष्ट्रपति मोहम्मद मुर्सीको सरकार अपदस्थ गर्दै सैनिक जनरल अब्देल फतह अल सीसीले राष्ट्रपतिको अधिकार अब मूख्य न्यायाधीशमा रहने घोषणा गरेका छन् ।

कू सँगै देशको संविधान निलम्बित गरिएको छ भने मुर्सीलाई पदबाट हटाउँदै सेनाले आफ्नो नियन्त्रणमा राखेको छ ।
देशमा राष्ट्रपतिको अर्को निर्वाचन नहुँदासम्म राष्ट्रपतिको सबै अधिकार अब मूख्य न्यायाधीशमा रहने घोषणा जनरल सीसीले गरेका हुन् । राष्ट्रिय टेलिभिजनमा बोल्दै जनरल सीसीले नयाँ राष्ट्रपतिको निर्वाचन नहुँदासम्म अन्तरिम सरकारको काम पनि मूख्य न्यायाधीशले नै गर्ने बताए । केही समयदेखि चर्केको राजनीतिक संकट समाधान गर्न सेनाले राष्ट्रपति मुर्सीसहित राजनीतिक दलका नेताहरुलाई ४८ घण्टाको समय दिएको थियो ।

उक्त समय सीमा सकिने वित्तिकै राजधानी कायरोसहितका मूख्य स्थानमा सेनाको ट्यांक तैनाथ गरी सेना परिचालन गरिएको छ । सत्तारुढ मुस्लिम ब्रदरहुडले सेनाको यस कदमलाई सत्ता कब्जाको संज्ञा दिएको छ । अपदस्थ राष्ट्रपति मुर्सीले फेसबुकमार्फत् प्रतिक्रिया जनाउँदै यसलाई सत्ताकब्जाको संज्ञा दिएका हुन् । तहरिर चोकमा भेला भएका हजारौं मुर्सी विरोधी विपक्षीहरुले भने खुशी मनाएका छन् । यसअघि सेनाले जनताको मागको सुनुवाई गर्न मुर्सी सरकारलाई चेतावनी दिएको थियो । तर मुर्सीले आफू जनताबाटै निर्वाचित राष्ट्रपति भएकाले सेनाको चेतावनी अमान्य हुने बताएका थिए ।

सत्ता र दुई पक्षबीचको भिडन्तमा १६ जना मारिएकासमेत थिए । सन् २०११ को क्रान्तिले ३० वर्षे अधिनायकवादी शासक होस्नी मुवारकलाई सत्ताच्यूत गराउँदै इजिप्टमा प्रजातन्त्र आएको थियो । त्यसपछि भएको निर्वाचनबाट मोहम्मद मुर्सी राष्ट्रपतिमा चुनिएका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...