धनगढी नगरपालिकाको कामकाज दुई दिन देखि ठप्प

१९ असार । धनगढी नगरपालिका कर्मचारी र शिवनगरका बासिन्दाबीचको विवाद बढ्दै गएपछि नगरपालिकाको कामकाज दुई दिनदेखि ठप्प छ ।

ग्राभेलको माग गर्दै नगरपालिका कार्यालय पुगेका स्थानीय बासिन्दा र कर्मचारीबीच मंगलबार विवाद भएको थियो । नगरपालिकाका इन्जिनियर दिजराज भट्टले ग्राभेल बोक्न इन्धन नभएको जवाफ दिएपछि आक्रोशित बासिन्दाले हातपात प्रयास गरेका थिए । सोही क्रममा इन्जिनीयर भट्टको टेबुलको सिसा फुटेको छ ।

कर्मचारीहरुले इन्जिनीयर माथि हातपातको प्रयास गर्न खोज्ने माथि कारवाहीको माग गर्दै कार्यालयको कामकाज ठप्प पारेका छन् । स्थानीयले सडक ग्राभेल नभएसम्म आन्दोलन जारी राख्ने भन्दै कार्यालयको प्रवेशद्वारमा तालाबन्दी गरेका छन् । बुधबार पनि स्थानीय बासिन्दाले कार्यालयमा धर्ना समेत दिएका छन् । स्थानीयले इन्जिनीयर भट्टले गैरजिम्मेबार जवाफ दिएको भन्दै स्थानीय बासिन्दा आक्रोशित बनेका छन् ।

स्थानीयले विगत पाँच महिनादेखि आफूहरुले ग्राभेलको माग गर्दा पनि नगरपालिकाले सुनुवाई नगरेको गुनासो गरेका छन् । उनीहरुले पाँच महिना अघि नै कार्यकारी प्रमुखले ग्राभेलका लागि तोक लगाउँदा समेत अन्य कर्मचारीहरुले काम नगरिदिएको बताएका छन् । शिवनगरका बासिन्दाहरुले जाई गाउँसम्म ७ सय ५० मिटर सडकमा ग्राभेलका लागि नगरपालिकासँग माग गरेका हुन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...