१६ जना हलिया ऋणबाट मुक्त, पीडा भने झन थपिदै - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

१६ जना हलिया ऋणबाट मुक्त, पीडा भने झन थपिदै

Share This
कृष्ण ओली ।
१५ साउन । बाजुराको साप्पाटा– ३ रुडीका सर्जने दमाई जति साहुको ऋणबाट मुक्त हुँदा खुसी छन्, त्यो भन्दा बढी उनी दुखी छन् ।
स्थानीय हरिचन्द्र खत्रीको घरमा दशकदेखि हलिया बस्दै आएका दमाई ऋणबाट मुक्त भएको खुसी भन्दा सन्तान र घरपरिवारको गुजारा कसरी चलाउने भन्नेमा बढी दुखी बनेका हुन् । उनलाई साहुले नगद र अन्य वस्तु भाउको मूल्य जोडेर रु ८५ हजार ऋण मिनाह गरे पनि खुसी नलागेको बताए ।

बाजेको पालदेखि नै हलिया बस्ती परिवार पाल्ने र जीवन चलाउने, आवश्यकता पर्दा साहुबाट ऋणपनि लिने गरेका थियौं, अब ऋण र हलियाबाट मुक्त भएपछि के गरेर खाने उनले दुखेसो पोखे । कमाई खाने एक टुक्रा जमिन समेत नभएका दमाईलाई बर्षौ पछि ८५ हजार ऋणबाट मुक्त भएको खुसी ओठमै हराएको छ ।

उनीसँग आठ जनाको परिवार छ । सम्पत्तिका नाममा बस्ने घर मात्र छ । साहुको काम नगरेको दिन सिंगो परिवार नै भोकै बस्नु पर्ने पीडा झनै थपिएको उनले बताए ।

‘यति ठुलो रकम ऋण थियो, मेरो आम्दानीले कहिल्यै तिर्न सकिने थिएन, साहुले कुनै सर्त नराखी मिनाह गरेका हुन् । उनले भने ।’ उनी हलियाबाट हटेको दिन देखि नै खुसी हुनु भन्दा बढी चिन्तामा छन् । हलिया अधिकार कर्मी पदम चदाराले बताए । हलिया मुक्तीको क्षेत्रमा काम गर्ने पुस बाजुरा, जिल्ला हलिया मुक्ती समाज लगाएतका गैर सरकारी निकायकै पहलमा ऋणबाट मुक्त भए पनि दुःख र पीडा बाट भने मुक्त नभएको सर्जने दमाईसँगै ऋणबाट मुक्त भएका साप्पाटा कै विरबल विकले भने ।

नत सन्तानलाई पढाउन सकेका छौं, नत कसैले पीडा बुझेका छन्, पेट भरी खान पाएका छैनौं, शरिर नाङ्गो पारेर हिड्नु पर्छ, हामी त यो देशका नगारिक पनि होइन रहेछौं, दुःख पोख्दै हलिया रंगी लवारले बताए ।

सर्जने दमाई, वीरवल विकसँगै बाजुरामा बर्षैदेखि हलिया जीवन बिताउँदै आएका १६ जना हलिया एकै साथ ऋणबाट मुक्त भएका छन् । उनीहरु जिल्लाको साप्पाटा, वाई र जुकोट गाविसका बासिन्दा हुन् ।

मानवलाई हलिया बनाएर बसाउँनु राम्रो काम होइन, रहेछ, बल्न आएर थाह भयो, त्यसैले हलियाले लिएको ऋण मिनाहको घोषणा गरेका छौं, उनीहरुलाई सुख हुन्छ भने हामी बाधक बन्दैनौं ६० हजार ऋण मिनाह गरेका नेत्र बमले भने । साहुसँग हुँदा दिनभरी काम गरेर भए पनि एक माना खानलाई र एक पाथीको खेत कमाउनलाई पाउँथ्यौं तर मुक्त पछि परिवार पाल्नु भन्दा आफुलाई समेत खानलाई समस्या भएको बाँधु गाविसका पुने लवारले बताए ।
मुक्त हुनेमा जुकोटका ३, वाईका ६, साप्पाटाका ७ जना हलिया रहेका छन् । उनीहरुबाट साहुहरुले करिब १२ सय देखि ८५ हजार बराबरको ऋण मिनाह गरेको पदम चदाराले बताएका छन् । वाईका जयलाल विक, देउले लवार, चिने लवार, सन्देश सार्की, सुरेन्द्र सार्की, रंगीवीर विक रहेका छन् भने जुकोटका धनराज चदारा, रुपचन्द्र विक, जसरी विक, साप्पाटाका वीर तिरुवा, जवा तिरुवा, डब्बले दमाई, विरलाल दमाई, सर्दने दमाई र वीरवल विक छन् ।

ऋण मिनाह अहिले सम्मकै सबैभन्दा बढी हरिचन्द्र खत्रीले ८५ हजार नेत्र बमले ६० हजार र दिप बम ८५ हजार ऋण मिनाह गरेका हुन् । खान लगाउनको चिन्ता र जीवन चलाउन पीडा थपिए पनि ऋण मिनाह भएकोमा उनीहरुले खुसी व्यक्त गरेका छन् ।

सरकारले, ऋण मिनाह, पुनरस्थापना, जीवन सुरक्षाको ग्यारेन्टी, हलिया परिचय पत्रको व्यवस्था लगायतका पाँच बुदे सहमति गरेर तत्कालिन सरकारले २०६५ साल भदौ २१ गते हलिया मुक्तीको घोषणा गरेपनि अहिलेसम्म कार्यान्वयन नभएको हलिया अधिकार कर्मी टिका विकले बताएका छन् ।
यस भन्दा पहिले पनि ११ जना हलिया ऋणबाट मुक्त भएका थिए । उनीहरुको अवस्था झन कष्टकर बन्दैछ । मुक्त घोषणा पछि हलियाको जीवनशैली झनै कष्टकर भए पनि साहुहरुले ऋण मिनाह गर्नेक्रम भने बढ्दो मात्रा छ । यस पटक साहुहरुले एकै साथ तीनलाख ८५ हजार सबैभन्दा बढी ऋण मिनाह गरेको हलिया अधिकार कर्मीहरुले बताएका छन् ।

सरकारले हलिया मुक्त घोषणा गरेर झनै पीडा थपेको गुनासो अधिकांश हलियाहरुको छ । अशिक्षा, गरिबी, अज्ञानताका कारण उनीहरुलाई अन्यत्र गएर जीवन निर्वाह गर्ने समेत कतै ठाउँ नभएको हलिया अधिकार कर्मी भुवन विकले बताए । साहुहरुले पनि आफुहरुलाई समस्यामा पार्ने भन्दै एकपछि अर्को गर्दै हलियालाई घर फर्काउन थालेका छन् । जिल्लाका १२ सय बढी हलिया प्रमाणिकरणमा परेका छन् । सरकारले भने हलियाको सवालमा खासै चासो नदेखाएको पाइएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here