निर्वाचनका लागि सहयोग गर्न रेग्मीको आग्रह

१९ असार । मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले निर्धारित समयमै चुनाव सम्पन्न गर्न सबैलाई सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको एघारौ सञ्चालक परिषद् बैठकको बुधबार ललितपुरमा उद्घाटन गर्दे अध्यक्ष रेग्मीले सरकारको प्रयासबाट मात्रै चुनाव सम्पन्न हुन नसक्ने बताउनुभएको हो ।

उहाँले जनताका प्रतिनिधिबाट निर्माण हुने संविधान लेखनको अवसरलाई कसैले गुमाउन नहुने पनि धारणा राख्नुभयो । अध्यक्ष रेग्मीले आदिवासीका मागमा सरकार सकारात्मक रहेको भन्दै आईएलओ महासन्धिलाई कार्यान्वयन गर्न सरकारले प्रयत्न गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकासमन्त्री विद्याधर मल्लिकले चुनावी सरकार आफ्नो सीमाभित्र रही आदिवासी जनजातिका माग सम्बोधन गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष जगबहादुर थापामगरले प्रतिष्ठानका लागि सरकारले छुट्याएको रकम अत्यन्तै न्यून भएको भन्दै बजेट बढाउन माग गर्नुभयो ।

कार्यक्रममा आदीवासी जनजातिका अगुवाहरूले चुनावमा समानुपातिक प्रतिशत घटाएकोमा आपत्ति जनाउँदै आफूहरूका मागलाई बेवास्ता गरिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...