निर्वाचन क्षेत्र निर्धारण आयोगको राजनीतिक दलहरुसँगको सुझाव संकलन कार्य पूरा

१८ असार । निर्वाचन क्षेत्र निर्धारण आयोगले मंगलबारदेखि राजनीतिक दलहरुसँगको सुझाव संकलन कार्य पूरा गरेको छ ।

निर्वाचन क्षेत्र पुनः निर्धारणका लागि सुझाव संकलन थालेको आयोगले पहिलो चरणमा राजनीतिक दलहरुसँग सुझाव संकलन गरेको हो । सोमबार १७ दलसँग सुझाव लिएको आयोगले मंगलबार पनि १७ दललाई बोलाएकोमा नेकपा–माओवादीसहितका केही दल अनुपस्थित रहे ।

छलफलमा सहभागी दलहरुले जनसंख्याका आधारमा क्षेत्र निर्धारण गर्न र भूगोललाई आधार बनाउने फरक फकर सुझाव दिएका छन् । मधेस केन्द्रित राजनीतिक दलले जनसंख्याका आधारमा क्षेत्रनिर्धारण गर्न र मधेसमा ५१ प्रतिशत क्षेत्र बनाउन माग गरेका छन् । यस्तै गैरमधेसी तथा तराईका केही दलहरुले भने मानिसहरु विकसित र सहरी क्षेत्रमा बसाइ सर्नेक्रमले जनसंख्याका अवस्थितिमा परिवर्तन ल्याएको भन्दै जनसंख्यालाई मात्र आधार बनाउँदा विकासको गति प्रभावित हुने बताएका छन् ।


आयोगले क्षेत्र निर्धारणका लागि अब कानुनविद् तथा भूगोल, जनसंख्या, तथ्यांक लगायतका क्षेत्रका विज्ञसँग सुझाव लिने छ । आयोगले दुईसय ४० क्षेत्र नबढाईकन जनसंख्या र भूगोलका आधारमा सन्तुलित क्षेत्र निर्धारण गर्ने जिम्मेवारी पाएको छ । जनसंख्यालाई आधार बनाउँदा हिमाली र पाहाडी गरी २७ जिल्लाको जनसंख्या ५८ सालको भन्दा घटेको छ भने काठमाडौंको जनसंख्या ६१ प्रतिशतले बढेको छ ।

तराईका अधिकांश जिल्लामा जनसंख्या बढेको छ । ३० दिनको कार्यकाल पाएको आयोगले आउँदो साउन १० गतेभित्र क्षेत्र निर्धारण पूरा गरी सरकारलाई प्रतिवेदन बुझाउनु पर्ने छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...