त्रियुगा नदीमा आएको बाढी गाउँमा पस्दा स्थानीयबासीको विचल्ली

२७ असार । अविरल वर्षासँगै त्रियुगा नदीमा आएको बाढी गाउँमा पसेपछि विहीबार बिहानदेखि सप्तरीको ओद्राहा गाविस डुबानमा परेको छ । बाँध भत्काएर बाढी गाउँमा पसेपछि ओद्राहा गाविस–५ बनिगामा टोलका शैनी चौधरी, बाबुराम चौधरी, रञ्जित चौधरीसहितका तीन दर्जन घर डुबानमा परेको हुन् ।

बस्तीमा करिब चार फिट पानी बग्न थालेपछि स्थानीयवासी त्रसित बनेका छन् । बाढीको पानी घरभित्र पसेपछि स्थानीय बलार्दहमा आएर बसिरहेको स्थानीय दीपेन्द्र यादवले जानकारी दिनुभयो ।

यस्तै त्रियुगा नदीको बाढीले सोही गाविसको वडा नं ४ स्थित बोचही नजिकै बाँध भत्काएर करिब २२ बिघा लगाएको धानबाली नष्ट पारेको बताइएको छ । वर्षायामको समयमा बर्सेनि त्रियुगा नदीमा आउने बाढीले सो क्षेत्रको ओद्राहा, कमलपुर, फत्तेपुरलगायतका गाविसलाई डुबानमा पार्दै आए पनि यसको नियन्त्रणका लागि ठोस काम हुन नसकेको भन्दै स्थानीयवासीले आक्रोशसमेत पोखेका छन् ।

त्यस्तै अविरल वर्षासँगै सप्तरीको खाडो खोलामा आएको बाढीका कारण सप्तरीको तिलाठीमा पानी पसेको छ । बाढीका कारण राजविराज–कुनौली सडक अवरुद्ध भएको छ । महुली खोलाको बाँध फुटेपछि पोर्ताहा र भारदह गाविसका हजारभन्दा बढी घर डुबानमा परेका छन् । उक्त बाढीले पोर्ताहा वडा नं ३, ४, ५, ६, ७, ८ र ९ तथा भारदह गाविस ७, ८ र ९ का एक हजारभन्दा बढी घर डुबानमा परेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...