चुनावसम्म सरकार परिवर्तन हुँदैनः राजनीतिक समिति

काठमाडौं, २२ असार । उच्चस्तरीय राजनीतिक समितिको बैठकले चुनावसम्म वर्तमान सरकार परिवर्तन हुन नसक्ने बताएको छ ।

बैठकले तोकिएको समयमै संविधानसभाको चुनाव गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।
शनिबार विहान नयाँ बानेश्वरमा बसेको बैठकले आन्दोलनरत दलसँग छिट्टै वार्ता गर्ने निर्णयसमेत गरेको एमाले नेता रघुजी पन्तले बताउनुभयो ।
उहाँले नेकपा–माओवादी चुनावी प्रकृयामा सामेल नभए पनि चुनाव सम्भव हुने बताउनुभयो ।

सुरक्षा निकायले आफ्नो तयारी गरिरहेको, चुनावी वातावरण बनिरहेको, निर्वाचन आयोग र सरकार चुनावमा केन्द्रीत भएकाले तोकिएको समयमा चुनाव हुने बैठकको निष्कर्ष छ ।
नेकपा–माओवादीले अघि सारेका मागमा २५ बुँदे र ११ बुँदेको मर्ममा परिवर्तन नगरिकन सहमति गर्न समिति तयार रहेको पन्तको भनाइ छ ।
नेकपा–माओवादीले भने सहमतिका लागि अहिलेको सरकार विघटनको माग गरेको छ ।

मोहन बैद्य नेतृत्वको नेकपा–माओवादी, फोरम नेपाल, संघिय समाजवादी पार्टिलगायत चुनावी प्रकृयाको विरोधमा छन् । नेकपा–माओवादीले पोखरामा सम्पन्न केन्द्रीय समितिको बैठकबाट संविधानसभाको चुनाव विथोल्न निर्णय गरेपछि ठुला दलहरुले सो पार्टिसँग थप छलफल गर्ने तयारीमा जुट्न थालेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...