सरकारबाट आन्दोलनरत दलहरुलाई पुनः वार्तामा आउन आग्रह

२२ असार । अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले असन्तुष्ट सबै दललाई सरकार र उच्चस्तरीय राजनीतिक समितिसँगको वार्तामा आउन आह्वान गर्नुभएको छ ।

१९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा शनिबार काठमाडौंमा भएको कार्यक्रममा अध्यक्ष रेग्मीले चुनाव नै एकमात्र निकास भएको भन्दै मतभेद थाती राखेर चुनावी प्रक्रियामा सहभागी हुन सबै दललाई आग्रह गर्नुभएको हो । उहाँले सरकार चुनावमा सबै दलको सहभागिता चाहेको भन्दै सरकारलाई इमान्दारिताका साथ सहयोग गर्न आग्रह गर्नुभयो ।

अध्यक्ष रेग्मीले चुनाव सम्पन्न भई संविधान जारी भएपछि नेपालको चौतर्फी विकासको बाटो खुल्ने भन्दै सरकारले सबै ध्यान चुनावमै लगाएको बताउनुभयो । आर्थिक क्षेत्रमा जनताको प्रत्यक्ष सहभागिता नभएसम्म देशको विकास हुन नसक्ने भन्दै उहाँले सहकारीलाई आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताउनुभयो ।

कार्यक्रममा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीले सहकारीलाई गरिब जनताको पहुँंचसम्म विस्तार गर्नुपर्ने बताउनुभयो । सन् १९९४ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा जुलाई महिनाको पहिलो शनिबार विश्वभरी नै अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइन्छ । नेपालमा भने चैत २० गतेलाई राष्ट्रिय सहकारी दिवसको रुपमा मनाइन्छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...