मंसिर ४ गते हुने चुनाव कुनै पनि हालतमा प्रभावित हुँदैन


२६ असार । प्रमुख दलका नेताहरुले मंसिर चारको चुनाव कुनै पनि हालतमा प्रभावित नहुने दाबी गरेका छन् । काठमाडौंमा बुधबार भएको कार्यक्रममा नेताहरुले नेकपा–माओवादीलाई चुनावमा ल्याउन अधिकतम प्रयत्न गर्ने भन्दै उनीहरु चुनावमा नआए पनि चुनाव नरोकिने बताएका हुन् ।

कार्यक्रममा एकीकृत माओवादीका नेता टोपबहादुर रायमाझीले बैद्यहरुको कार्यदिशा विद्रोह भएकाले उनीहरु चुनावमा आउनेमा विश्वास नलागेको बताउनु भयो । उहाँले नेकपा–माओवादीले चुनाव भाँड्न नसक्ने दावी गर्नुभयो । नेपाली कांग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले मंसिर चारको चुनाव देशको भविष्यसँग जोडिएको भन्दै जसरी पनि सफल बनाउनुपर्ने बताउनुभयो ।

उहाँले चुनाव गर्ने शर्तमा मात्र असन्तुष्ट दलसँग लचक हुनुपर्ने बताउनुभयो । एमाले नेता भीम रावलले चुनाव नेपाल र नेपालीका लागि भएको भन्दै अरुको मुख ताक्नु गलत भएको बताउनुभयो । नेता रावलले देशमा चुनाव गर्न विदेशीको समर्थन खोज्ने प्रवृत्ति देखिएको भन्दै यस्ता नेताबाट केही पनि अपेक्षा गर्न नसकिने बताउनु भयो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक निकासका लागि चुनावको विकल्प नभएको भन्दै मंसिर चारको चुनाव गर्नै पर्ने बताउनुभयो ।

उहाँले नेकपा–माओवादीले उठाएका सवालमा आफ्नो समर्थन रहेको भन्दै चुनाव बहिस्कार गरे फेरि बहुदलका लागि आन्दोलन गर्नुपर्ने अवस्था आउने बताउनुभयो । कार्यक्रममा संघीय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थिति चुनावका लागि उपयुक्त भएको भन्दै चुनाव अब कसैले टार्न नसक्ने बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...