खाद्यान्न माग गर्दै बाजुराका स्थानीयबासी आन्दोलित - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

खाद्यान्न माग गर्दै बाजुराका स्थानीयबासी आन्दोलित

Share This
कृष्ण आली ।
३ असार । खाद्यान्नको माग गर्दै बाजुरा जिल्लाको कोल्टीमा सरकारका विरुद्धमा नाराबाजी गर्दै स्थानीयबासीले जुलुस प्रदर्शन गरेका छन् ।
जिल्लाको ११ गाविसका सर्वसाधारणका लागि तत्काल खाद्य आपूर्ति गर्न माग गर्दै नागरिक समाजका अगुवा, गैर सरकारी निकायका प्रतिनिधि र स्थानीयको सक्रियतामा सरकार विरोधी नारा–जुलुस प्रर्दशन गरिएको हो । कोल्टीमा रहेको खाद्य संस्थान शाखाले मौजाद चामल सकिएको बताउँदै खाद्यान्न वितरण गर्न रोकेपछि सर्वसाधारण आन्दोलित बनेका हुन् ।

बुधबार स्थानीयबासीले कोल्टी बजारमा सरकार विरोधी नारा जुलुस प्रर्दशन गरी आधा घण्टा खाद्य संस्थान शाखा कार्यालय अगाडी धर्नासमेत दिएका थिए । एक छाक टार्नलाई समेत चामल नपाएपछि बजारमा बसोबास गर्ने कर्मचारी, होटल व्यवसायि र सर्वसाधारण भोकै छाक बिताउनु पर्ने बाध्यता आन्दोलनमा उत्रिएका थिए ।
स्थानीयबासीले–
चुनाव होइन चामल चाहियो,
बजेट भाषण केका लागि, खान छैन पेटका लागि ,
भोक लाग्यो चामल दे,
बाजुरामा चामल छैन यो सरकारको कामै छैन,

भन्दै चर्को रुपमा नारा बाजी गरेका थिए । स्थानीय नागरिक समाजका प्रतिनिधि, गैरसरकारी निकाय पीसविन, एचआरसी, पुस, हलिया मुक्ती समाजका प्रतिनिधिहरुले खाद्यान्नको माग गर्दै शसक्त आन्दोलन र सरकार विरोधी नारा जुलुस लगाएको स्थानीयले बताएका छन् । कोल्टी बजारमा प्रति केजी चामल ८० रुपैयाँ पर्छ त्यहि पनि प्रर्याप्त पाइदैन के गरेर छाक टार्ने ११ गाविसका सर्वसाधारणको यो पीडा सरकारले नबुझे परिस्थिति नियन्त्रण बाहिर जाने आन्दोलनका अगुवा एवं अधिकार कर्मी कृष्ण नाथ योगीले बताउनुभयो ।

यता खाद्य संस्थान शाखाले सरकारले थप कोटा नपठाए असारको अन्तिम साताबाट खाद्य अभाव हुने यस अघि नै जानकारी गराएको थियो । कोल्टी शाखाका लागि आएको ६ हजार ५ सय क्वीन्टल चामल असारमै सकिएपछि संस्थान बन्द गरेर बस्नु परेको कार्यालय प्रमुख रमेश सिंहले बताउनुभयो । उहाँले हाल खाद्य संस्थानमा ४५ क्वीन्टल मात्र बाँकी रहेकोले माग गरिएको २ हजार क्वीन्टल चामल नआएसम्म वितरण नगर्ने बताउनुभयो ।

कोल्टी खाद्य संस्थानमा मात्र नभएर जिल्ला सदरमुकाम मार्तडीमा रहेको खाद्य डिपोमा पनि चामलको अभाव सिर्जना हुन थालेको छ । यो वर्ष सरकारले माग अनुसारको चामल नपठाएकै कारण असारमै खाद्य अभाव भएको संस्थाका प्रमुख बासुदेव भट्टले बताउँदै आउनु भएको छ । यता प्रमुख जिल्ला अधिकारी धुव्रराज जोशीले भने खाद्यान्न आपूर्तिका लागि सम्बन्धीत निकायमा खबर गरिसकेकोले खाद्यान्न समस्या हुन नदिने पहल भइरहेको बताउनुभयो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here