असन्तुष्ट दलसँग उच्चस्तरीय समितिले निर्णायक वार्ता गर्दै

३२ साउन । उच्चस्तरीय राजनीतिक समितिले आन्दोलनरत दलसँग निर्णायक वार्ता जारी राखेको छ । बिहीबार राती अवेर उपेन्द्र यादव नेतृत्वको मोर्चासँग सहमति गरेको समितिले शुक्रबार संघीय समाजवादी पार्टीसँग निर्णायक वार्ता गर्दैछ । संघीय समाजवादी पार्टीसँग सहमति गरेपछि नेकपा माओवादी नेतृत्वको मोर्चासँग वार्ता हुनेछ ।

वार्ता दिउँसो ४ बजेपछिसमितिको कार्यालय नयाँबानेश्वरमा हुने एमाओवादी नेता नारायणकाजी श्रेष्ठले जानारी दिए ।समाजवादीले उच्चस्तरीय राजनीतिक समिति खारेज या पुर्नगठन र विगतका असंवैधानिक कदम सच्याएमा आफूहरु चुनावमा भाग लिने बताउँदै आएको छ। त्यसमा राजनीतिक समिति तयार भइसकेको छ ।

विहीबार भएको सहमतिमा संघीय समाजवादी पार्टीले उठाउँदै आएका धेरै माग सम्बोधन भएका छन् । फोरम नेपाल नेतृत्वको मोर्चासँग समितिले मंसिर ४ गते नै चुनावगर्ने गरी संविधान सभाको सिटसंख्या ५ सय ८५ बनाउने सहमति गरेको छ ।

संघीय समाजवादीसँगको वार्ता पछि समितिले नेकपा–माओवादीको मोर्चासँग वार्ता गर्नेछ । मोर्चासँग यसअघि छलफल भएका एजेण्डाहरुमाथि छलफल हुनेछ । यद्यपी समितिले मोर्चाले राखेका १८ बुँदे सबै मागहरु पुरा गर्न नसकिने यसअघि नै बताइसकेको छ ।

सहमति भएका ६ बुँदा
१. मंसिर ४ का लागि तोकिएको संविधानसभा निर्वाचनलाई सक्रिय सहभागितासहित सफल पार्ने
२. मंसिर ४ मै निर्वाचन गर्न निम्न आवश्यक संवैधानिक तथा कानुनी व्यवस्था गर्न राष्ट्रपति र सरकारलाई अनुरोध गर्ने
क. संविधानसभाको कुल संख्या ५८५ हुने
ख. २४० निर्वाचन क्षेत्रको सीमांकन यथावत् कायम राख्ने
ग. समानुपातिकमा ३३५ सभासद रहने
घ. मन्त्रिपरिषद्बाट १० जना मनोनीत गरिने
३. मतदाता नामावली संकलनका लागि दुई साता थप गर्न निर्वाचन आयोगलाई आग्रह गर्ने
४. संविधानका आधारभूत सिद्धान्तका बारेमा सहमति कायम गर्ने कार्य अघि बढाउने
५. समितिमा मोर्चा पनि सहभागी हुने । संविधानसभाको निर्वाचनमा सहभागी हुने अन्य दललाई पनि सामेल गर्न सकिने
६. समिति र मोर्चा अन्य राजनीतिक पार्टी र जनसमुदायलाई घोषित मितिमा निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढंगले सफल पार्न एक भएर अघि बढ्ने ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...