
निर्वाचन आयोगले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ताको लागि थपेको दोस्रो पटकको समयसिमा सकिनै लाग्दा आफनो नाम दर्ता गराउन चाहनेको भीड बढ्दो छ । छैठौ दिन, विहिवार गाइजात्रा पर्व भएपनि फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गर्न आउने ठूलै भीडले जिल्ला निर्वाचन कार्यालय, काठमाडौ निकै भीडभाडपुर्ण देखियो । त्यस्तै जिल्ला निर्वाचन कार्यालय ललितपुरमा पनि त्यस्तै भीड थियो । घाममा छाता ओढेर लाइनमा घन्टौदेखि पालो कुरेर बसेका थिए, मानिसहरु । पहिले काम विशेषले नभ्याएर मात्र होइन,उनीहरुलाई चुनाव हुन्छ भन्ने नै नलागेर मतदाता नामावलीमा आफनो नाम दर्ता नगराएको बताए । अहिले चुनावी माहोल बढ्दै गएकाले नाम दर्ता गराउन आएको उनीहरुको भनाइ थियो ।
चुनावी माहौल बनाउन दलहरुबीच वार्ता प्रक्रिया चलिरहेका कारण पनि सर्वसाधारण चुनाव हुनेमा केहि आशावादी देखिए । अझ विहिवार मतदाताको भीड बढि भएर महिला र पुरुषको छुट्टा छुट्टै लाइन समेत राखिएको थियो । मतदाताहरुको भीड बढि भएकाले त्यस्को व्यवस्थापन गर्न सुरक्षाकर्मी पनि व्यस्त देखिन्थे । विरामी भएर पनि फोटो सहितको मतदाता नामावलीमा आफनो नाम लेखाउन आएका कतिले त घन्टौ लाइनमा बस्दा समेत पालो नआएको गुनासो गरे । निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउन छुटेकालाई सहभागी गराउन भदौ एकदेखि ७ गतेसम्म नाम दर्ता खुला गरेको छ । निर्वाचन आयोगका अनुसार, दोस्रो पटकको पाँचौ दिनसम्म ७० हजार, पाँच सय ५९ जनाको फोटो सहितको मतदाता नामावली संकलन गरीएको छ । शायद यहि भिड देखेर नै होला ठूला दलहरुले फेरि सात दिन समय थप गर्न निर्वाचन आयोगसंग माग गरेका थिए । तर,आयोगले यो प्रस्ताव अस्वीकार गरिसकेको छ ।
No comments:
Post a Comment