पेट्रोलियम पदार्थको भाऊ बढ्यो, विद्यार्थीबाट विरोध

२६ भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगम सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले पेट्रोल, डिजल, मट्टितेल लगायतको भाउ बढाएको हो ।

निगमले पेट्रोलको भाउ लिटरमा ५ रुपैयाँ बढाएर १ सय ३० रुपैयाँ पुर्याएको छ । यस्तै, डिजल र मट्टितेलको प्रति लिटर ३।३ रुपैयाँ बढाएर १ सय ३ रुपैयाँ पुर्याइएको छ । हवाई इन्धनमा पनि लिटरमा ७ रुपैयाँ बृद्धि गरिएको निगम स्रोतले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य बृद्धि र डलरको भाउ बढेसंगै निगमको घाटा बढेर मूल्य बढाउनु परेको निगमको तर्क छ ।

यसैबीच आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धको विरोधमा विद्यार्थी संगठनहरुले आन्दोलन थालेका छन् । प्रमुख दलका भ्रातृसंगठनहरुले विहानैदेखि सडक केन्द्रित आन्दोलन थालेका हुन । मुल्य वृद्धि भएसँगै नेपाल विद्यार्थीसंघ सहितका विभिन्न भ्रातृसंगठनहरुले उपत्यकाका क्याम्पस अगाडि बिहानै नाराबाजीसहित चक्काजाम गरेका छन् । विहान ८ बजेदेखि ९ बजेसम्म क्याम्पस अगाडि चक्काजाम गरिएको नेविसंघका प्रवक्ता युपी लामिछानलेले जानकारी दिनुभयो । आयल निगमले यसअघि गत साउन २६ गते पनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको थियो ।

अबदेखि १ लिटर पेट्रोल किन्न उपभोक्ताले १ सय ३० तथा डिजेल र मट्टितेल किन्न १ सय ३ रुपैयाँ तिर्नुपर्ने छ । पछिल्लो वृद्धिले पनि खाना पकाउने एलपी ग्याँसलाई भने छोएको छैन । त्यस्तै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि पश्चिम नेपाल बस व्यवसायी सङ्घले मूल्यवृद्धिको विरोध गरेको छ।

सङ्घले मंगलबार विज्ञप्ति जारी गरी तत्काल मूल्यवृद्धि फिर्ता लिन आग्रह गर्दै सर्वसाधारण उपभोक्तालाई आहत हुने गरी मूल्यवृद्धि गरेर सरकारले जनविश्वास गुमाउँदै गएको जनाएको छ। सङ्घले सरकारले पटक पटक मूल्यवृद्धि गरेर गरिब नेपालीमाथि आर्थिक भार थोपर्ने काम गरेको बताएको छ।

सङ्घका अध्यक्ष दधिराम खरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा पेट्रोलियम पदार्थको अभाव र पटक पटक मूल्यवृद्धिले व्यवसायीलाई मर्कामा पारेको र पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गरेर जनतालाई राहत दिन आग्रह गरिएको छ।
विज्ञप्तिमा सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नगरे यातायात व्यवसायीले यातायात भाडा वृद्धि गर्न बाध्य हुने चेतावनी दिइएको छ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...