३३ दलीय मोर्चा चुनावमा आउन नचाहेको आरोप

१ असोज । राष्ट्रपति डाक्टर रामवरण यादवको पहलमा उच्चस्तरीय राजनीतिक समिति र नेकपा माओवादीसहितको मोर्चाबीच भएको वार्ता प्रक्रिया अन्ततः विनानिष्कर्ष टुंगिएको छ । वार्ता प्रक्रिया टुंगिएकोप्रति राष्ट्रपतिले पनि चिन्ता व्यक्त गर्नुभएको छ ।

नयाँ बानेश्वरस्थित उच्चस्तरीय राजनीतिक समितिको कार्यालयमा भएको बैठकमा ३३ दलीय मोर्चाले अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधिश पदबाट राजीनामा दिनुपर्ने अडान प्रमुखताका साथ राखेको थियो ।

मन्त्रिपरिषद् अध्यक्षलाई प्रधानन्यायाधीश पदबाट राजीनामा गराउन नसकिने समितिको अडानपछि वार्ता परिणाममुखी बन्न सकेन । उच्चस्तरीय राजनीतिक समितिले नेकपा माओवादी नेतृत्वको ३३ दलीय मोर्चा चुनावमा सहभागी हुन नचाहेको आरोप लगाएका छन् । समितिले भनेजस्तो नेकपा–माओवादी चुनावमा आउनै नचाहेको हो त ? राष्ट्रपति डाक्टर रामवरण यादवले सोमबारसम्म सहमतिमा पुग्न उच्चस्तरीय राजनीतिक समिति र ३३ दलीय मोर्चालाई आग्रह गर्नुभएको थियो ।

वार्ता फलदायी नबनेपछि उच्चस्तरीय राजनीतिक समिति र ३३ दलीय मोर्चाले वार्ता निष्कर्षमा पुग्न नसक्नुको कारणबारे राष्ट्रपतिलाई सोमबार साँझै जानकारी गराएका छन् । पटक–पटकको वार्ता प्रक्रिया टुंगोमा पुग्न नसकेकाले नेताहरुले औपचारिक वार्ता प्रक्रिया समाप्त भएको प्रतिक्रिया दिएका छन् । यद्यपि कुनै एक पक्ष्ँले अडान परिवर्तन गरे वार्तालाई निरन्तरता दिन सकिने नेताहरुको भनाई छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...