चुनावमा सहभागी हुन सबै दललाई आह्वान

४ असोज । सरकारले आगामी मंसिर ४ गतेको संविधानसभा निर्वाचन प्रक्रियामा सहभागी हुन सबै राजनीतिक दललाई आह्वान गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनबाट नै सबै समस्याको समाधान हुने भन्दै निर्वाचनका सहभागी हुन दलहरुलाई आह्वान गरेको हो । मन्त्रिपरिषद बैठकले सूचनाको हकसम्बन्धी कानुनी प्रावधानको कार्यान्वयन तथा अनुगमनका लागि कार्यक्षेत्रगत सर्तसहित प्रधानमन्त्री कार्यालमा एकाइ स्थापना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले प्रधान सेनापति गौरवशमशेर राणा नेतृत्वको ६ सदस्यीय टोलीको यही असोज १३ देखि १९ सम्म हुने भारत भ्रमण स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद बैठकले न्याय सेवाका २ तथा निजामति सेवाका आठ कर्मचारिको राजपत्रांकित प्रथम श्रेणीमा बढुवा गरिएको छ । यस्तै मन्त्रिपरिषद् बैठकले रेल्वे सञ्चालन नियमावली मन्त्रिपरिषद्को विधेयक समितिमा पठाएको छ । मन्त्रिपरिषद्ले सन् २०१३ मा कराते तथा तेक्वान्दोमा अन्तर्राष्ट्रिय पदक जित्ने ३० खेलाडीलाई ३५ हजारदेखि पाँच लाखसम्म प्रदान गर्ने निर्णय गरेको छ ।

निजी सुरक्षा व्यवसायीलाई नियमन तथा व्यवस्थापन गर्ने अध्यादेश मन्त्रिपरिषद्ले विधेयक समितिमा पठाउने निर्णय गरेको छ । बैठकले सशस्त्र प्रहरीको लेखा समूह गठन, नियुक्ति, बढुवा सम्बन्धी नियमावली पनि विधेयक समितिमा पठाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...