प्रचण्ड र सुशीलबाट अध्यक्ष रेग्मीसँग भेटवार्ता

१८ भदौ । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसँग एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले मंगलबार बिहान भेटवार्ता गर्नुभएको छ ।

अध्यक्ष रेग्मीको सरकारी निवास बालुवाटारमा भएको सो भेटवार्तामा समसामयिक राजनीतिक गतिविधि, निर्वाचनको तयारी र चर्चामा रहेको गोरखाको फुजेल घटनाका विषयमा केन्द्रित रहेर छलफल भएको बताइएको छ । अध्यक्ष रेग्मीलाई भेट्न एमाओवादीका अध्यक्ष दाहाल बिहानै बालुवाटार पुग्नुभएको थियो । पार्टीको निर्णयअनुसार उहाँले फुजेल घटनाको अनुसन्धान अघि नबढाउन अध्यक्षसमक्ष आग्रह गर्नुभएको बुझिएको छ ।

दाहालसँगको भेटपछि काँग्रेसका सभापति कोइराला बालुवाटार प्रवेश गर्नुभएको थियो । सभापति कोइराला र अध्यक्ष रेग्मीबीचको भेटमा सरकार र निर्वाचन आयोगका तर्फबाट निर्वाचनबारे भइरहेको तयारीलगायत विषयमा छलफल भएको बुझिएको छ । सभापति कोइराला उच्चस्तरीय राजनीतिक समितिका संयोजक हुनुहुन्छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...