माओवादीसहितको मोर्चाको बन्दले जनजीवन प्रभावित

३१ भदौ । नेकपा–माओवादीसहितको ३३ दलीय मोर्चाले सोमबार मध्यपश्चिम र पश्चिमाञ्चल क्षेत्र बन्द गरेको छ ।

यथास्थितिमा मंसिर ४ को निर्वाचन बहिष्कार र गोलमेच सम्मेलनको माग गर्दै नेकपा–माओवादी नेतृत्वको मोर्चाले बन्द आह्वान गरेको हो । मोर्चाको बन्दका कारण तनहुँको सदरमुकाम दमौली, डुम्रे, आँबुखैरेनी, भिमाद, खैरेनीटार, दुलेगौडाका बजार बन्द छन् । बिहानैदेखी नेकपा–माओवादीका कार्यकर्ता बन्द गराउँदै हिंडेका छन । त्यस्तै पोखराबाट छुट्ने लामो तथा छोटो दुरीका यातायात ठप्प छ भने उद्योग, शिक्षणसंस्था र बजार पनि बन्द भएको छ । लेखनाथ नगरपालिकामा पर्ने तालचोकबाट बन्द गराउँदै हिंडेका ५ जना माओबादी कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अर्घाखाँचीमा पनि बन्दको प्रभाव परेको छ । यातायात, शिक्षणसंस्था, बजार पूर्ण रुपमा बन्द छन । यसै बीच मोर्चाको बन्दले गुल्मीको जनजीवन पनि प्रभावित बनेको छ । सदरमुकाम तम्घास लगायत जिल्लाभरी सवारी साधन चलेका छैनन् भने बजार र पसलहरु बन्द छन् । बन्दकर्ताहरुले बिहानैदेखि बजार बन्द गराउँदै हिँडेका छन् । बन्दले रुकुम, सल्यान, रोल्पा, प्यूठान, पाल्पा, बाग्लुङ, म्याग्दी, गोरखा, लम्जुङ, मनाङ, मुस्ताङ, पर्वत, स्याङजा, कपिलवस्तु, रुपन्देही र नवलपरासीको जनजीवन पनि प्रभावित बनेको छ । बन्दमा एम्बुलेन्स, पानी, दुध, पर्यटक, मानवअधिकारकर्मी तथा सञ्चारकर्मीका सवारी साधनहरु निर्वाध चलेका छन । साँझ ५ बजे बन्द खुल्ने मोर्चाले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...