जनाधिकार स्थापित गर्न असन्तुष्ट दललाई चुनावमा सहभागी हुन आग्रह

९ असोज । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताका अधिकार स्थापित गर्न नेकपा–माओवादीलाई चुनावमा आउन आग्रह गर्नुभएको छ ।

पार्टी कार्यालय कोटेश्वरमा बुधबार भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले जनयुद्धबाट सँगै लडेर ल्याएका उपलब्धि संस्थागत गर्न नेकपा–माओवादीलाई चुनावमा आउन आग्रह गर्नुभएको हो । उहाँले गणतन्त्र, संघियता, धर्मनिरपेक्षताका मुद्दाहरु एउटै भएका कारण दुई माओवादी एकताबद्ध भएर चुनावमा जानुको विकल्प नभएको बताउनुभयो । अध्यक्ष प्रचण्डले नेकपा–माओवादीका अध्यक्ष मोहन बैंद्यसँग पार्टी एकताको कुरा चलिरहेको बताउनुभयो । उहाँले सँगै दश बर्षसम्म लडेका माओवादीलाई जनताले छुट्टा–छुट्टै रुपमा हेर्न नचाहेको समेत बताउनुभयो । यसैबीच एकीकृत माओवादीका प्रवक्ता अग्नि सापकोटाले एक साताभित्र चुनावी घोषणापत्र जारी गर्न लागेको बताउनु भएको छ ।
काठमाडौंमा बुधबार भएको कार्यक्रममा नेता सापकोटाले एक साता भित्र सामाजिक न्यायसहित आर्थिक विकासको एजेण्डामा आधारित घोषणा पत्र जारी गर्न लागेको जानकारी दिनुभएको हो । उहाँले आगामी चुनावमा २ तिहाई मतसहित आफ्नो पार्टी विजयी हुने दावी गर्नुभयो । नेता सापकोटाले तीनदिन भित्रमा प्रत्यक्ष र समानुपतिकतर्फका उम्मेद्वारको नाम सार्वजनिक गर्ने बताउनु भयो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिस सदस्य एनपी साउदले आघिल्लो चुनावमा माओवादीले बहुमत ल्याएका कारण संविधान बन्न नसकेको टिप्पणी गर्नु भयो । उहाँले अब हुने चुनावमा ५० प्रतिशत युवालाई उम्मेद्वारीमा समावेश गर्ने बताउनु भयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...