चुनावी तालमेलका लागि असन्तुष्ट दलसँग छलफल जारी छः नेपाल

काठमाडौँ, ५ असोज । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा–माओवादीसँग चुनावी तालमेलका विषयमा छलफल भइरहेको बताउनुभएको छ ।

काठमाडौंमा शनिबार भएको कार्यक्रममा नेता नेपालले दुई दलबीच चुनावी तालमेलका विषयमा छलफल भइरहेको बताउनुभएको हो । संविधान लेखनका लागि मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसँग हातेमालो गर्न आफूहरु तयार रहेको भन्दै उहाँले माओवादी पनि चुनावमा आउने दाबी गर्नुभयो । नेता नेपालले मंसिर ४ गतेको चुनाव कुनै पनि तागतले रोक्न नसक्ने दाबी गर्नुभयो । जनताको सपना पूरा गर्न चुनावी प्रक्रियामा सहभागी हुनुको विकल्प नभएको भन्दै नेता नेपालले कुनै पनि बहानामा चुनाव नसर्ने दाबी गर्नुभयो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य डाक्टर वंशीधर मिश्रले चुनावी अभियानमा लाग्न सबै नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

यसैबीच नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले दलहरु जिम्मेवार हुन नसके दोस्रो संविधानसभाले पनि संविधान दिन नसक्ने बताउनुभएको छ । प्रेस चौतारी नेपालको दोस्रो केन्द्रिय समितिको पूर्ण बैठकको शनिबार काठमाडौंमा उद्घाटन गर्दै उपाध्यक्ष गौतमले दलहरु गैरजिम्मेवार भए संविधानसभाले सार्थकता पाउन नसक्ने बताउनुभयो ।


मिश्रित निर्वाचन प्रणालीमा कुनैपनि दलको दुई तिहाई मत आउन नसक्ने भन्दै उहाँले एकीकृत माओवादीले आगामी चुनावमा दुई तिहाई मत ल्याउने भनेर जनतामा भ्रम छरेको आरोप लगाउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले संविधानसभाको चुनाव सम्पन्न गर्न पत्रकार जगत्ले पूर्ण सहयोग गर्ने बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...