चन्द्रमाको पूजा गरी चौंठचन्द्र पर्व मनाइँदै

२३ भदौ । मैथिल समुदायले आइतबार राति चन्द्रमाको पूजा गरी ‘चौंठचन्द्र’ पर्व मनाउँदैछ ।

भाद्र शुक्ल चतुर्थीमा पर्ने यो पर्व तिथि घटबढका कारण आइतबारै राति परेको हो । चन्द्रमाको पूजा गरिने भएकाले यो पर्वलाई ‘चौंठचन्द्र’ भनिन्छ । चतुर्थीका रात चन्द्रमाको पूजा गरे परिवारको सुख–समृद्धि हुने विश्वास छ । ‘चौरचन‘ भनेर पनि भनिने यो पर्वमा चामल र गहुँको पिठोका विभिन्न प्रकारका पकवान बनाइन्छ ।

त्यस्तै, केरा, नरिवल, फलफूल, मिठाइ र दही पूजाका साम्रगीका रूपमा राखिन्छ । यस पर्वमा व्रतालुहरू दिनभरि उपवास बसी राति पूजा गर्ने परम्परा छ । त्यस्तै, व्रतालुहरूले आँगनमा चामलको पिठोको कलात्मक चित्र ‘अरिपन’ बनाई चन्द्रमाका साथै विभिन्न देवीदेवताको पूजा गर्छन् । परापूर्वकालमा मिथिलाका राजा हेमाङ्गदले यो पर्व मनाउन सुरु गरेको जनविश्वास छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...