रासायनिक हतियार नष्ट गर्न सिरियाले समय माग्यो

३ असोज । सिरियाली राष्ट्रपति बशर अल असदले आफ्नो देशमा रहेको रासायनिक हतियार नष्ट गर्न आफूलाई एक वर्ष समय दिनुपर्ने माग गरेका छन् ।


हतियार नष्ट गर्ने प्रक्रिया लामो, झञ्झटिलो र निकै खर्चिलो हुने भएकाले यसका लागि एक वर्षभन्दा अझै बढी समय लाग्न सक्ने उनले प्रष्ट गरेका छन् । यो जटिल प्राविधिक विषय भएकाले करिब एक बिलियन डलर खर्च लाग्न सक्ने अनुमान पनि असदले गरे ।

फक्स न्यूजलाई दिएको एक अन्तर्वार्तामा असदले २१ अगष्टमा राजधानी नजिक गरिएको रासायनिक हतियार आक्रमण आफ्नो सेनाले नगरेको जिकीर गर्न उनले छुटाएनन् । अमेरिका र रुसबीच सन् २०१४ को मध्यसम्ममा हतियार नष्ट गरिसक्नुपर्ने सहमति भएकोमा असदले यस्तो टिप्पणी गरेका हुन् ।

असदविरुद्ध संघर्षरत विपक्षी र अमेरिकासहितका पश्चिमा राष्ट्रहरु सिरिया सरकारले विपक्षीविरुद्ध रासायनिक हतियार प्रयोग गरेकाले सेन्य हस्तक्षेप गर्नुपर्ने पक्षमा छन् भने रुस र चीन यस प्रस्तावको विपक्षमा छन् । यसै विवादका बीच अमेरिका र रुसले सिरियासँग रहेको सबै रासायनिक हतियार आगामी वर्षको मध्यसम्ममा नष्ट गरिसक्नुपर्ने बीचको बाटो खोजेर तत्कालका लागि मध्यमार्ग खोजेका हुन् ।


यो सहमति भैसकेपछि आरोपबाट बच्न सिरिया सरकारले रासायनिक हतियार विपक्षीबाट प्रयोग गरिएको भन्दै त्यसको प्रमाण आफ्नो सहयोगी मित्र रुससमक्ष पेश गरेको छ । सन् २०११ देखि असदको सत्ताविरुद्ध सिरियामा भएको गृहयुद्धमा एक लाखभन्दा बढी नागरिक मारिइसकेका छन् । लाखौलाख घरवारविहीन र शरणार्थी बन्न बाध्य पारिएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...