सामाजिक संस्था ग्रामीणमुखी हुनुपर्छः रेग्मी

६ असोज । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले नेपाली जनताको संविधान बनाउने सुनिश्चितता, राजनीतिक स्थायित्व र विकासका लागि संविधानसभाको निर्वाचन गर्न सरकार क्रियाशील भएर लागेकाले सबैको सहभागिताका लागि आह्वान गरेका छन् ।

‘हाम्रो स्रोत हाम्रो विश्वास हाम्रो लक्ष्य सामाजिक विकास’ नाराका साथ ३४ औँ सामाजिक दिवसका अवसरमा समाजकल्याण परिषदद्वारा आईतबार काठमाण्डौमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष रेग्मीले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन नै सरकारको लक्ष्य रहेको बताए ।

रेग्मीले परोपकार नै पुण्य कार्य हो भन्ने सामाजिक सेवाको भावनाबाट नेपाली समाज सधै प्रेरित रहेको बताउँदै सभ्य, शिष्ट र समृद्ध समाज निर्माण गरी मानव समाजलाई एकताको सूत्रमा आबद्ध गर्न सामाजिक विकासका कार्यलाई अघि बढाउनुपर्ने बताए । “सामाजिक संस्थाको भूमिका गरिबमुखी र ग्रामीणमुखी हुनुपर्छ, सरकारले अघि सारेको विकासको कार्यलाई सामाजिक संस्थाले महत्वपूर्ण योगदान दिन सक्छन्,” अध्यक्ष रेग्मीले भने ।

सामाजिक रुपान्तरणका लागि समाजसेवीको खोजी र उनीहरुको संस्कारको सम्मना गनुपर्नेमा जोड दिँदै यसैबाट राष्ट्रिय विकासको भावी बाटो पनि तय हुने अध्यक्ष रेग्मीले बताए ।

कार्यक्रममा अध्यक्ष रेग्मीले एक लाख राशिको यस वर्षको तुलसीमेहर समाज सेवा पुरस्कार नेपाल अन्धाकल्याण सङ्घ त्रिपुरेश्वरलाई तथा २१ हजार राशिको यस वर्षको समाजसेवा पुरस्कार विष्णुकुमारी लिम्बू, रामबहादुर अमात्य, वसन्तराज कुँवर, वीरेन्द्रराज शर्मा पाखरेल, मानकुमारी गिरी, महावीर पुन र लेखराज सुवेदीलाई प्रदान गरे ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...